अत्तरिया : कैलालीको गोदावरी नगरपालिकाले ३५औं अन्तर्राष्ट्रिय बाल अधिकार दिवस विशेष कार्यक्रमको आयोजना गरि मनाएको छ । नगरपालिकाको महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाले नगर भित्रका क्लबका पदाधीकारीहरुको उपस्थितिमा ३५औं अन्तर्राष्ट्रिय बाल अधिकार दिवस मनाएको हो ।
‘बालबालिकामा लगानि,सुनिश्चित भविष्यको थालनी’ नारासहित अन्तर्राष्ट्रिय बाल अधिकार दिवस मनाइएको हो । अन्तर्राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा आयोजित उत्त कार्यक्रममा बालबालिकाहरुले विभिन्न सांस्कृति कार्यक्रमहरु पनि प्रस्तुत गरेका थिए ।
नगरस्तरीय बाल सञ्जालका अध्यक्ष दिलीप भट्टको सभापतित्वमा आयोजित कार्यक्रममा नगर उपप्रमुख शारदा देवी रोकाया प्रमुख अतिथि रहेकी थिईन् । कार्यक्रममा गोदावरी नगरपालिकाका विभिन्न वडाका वडा अध्यक्ष, सदस्य, विभिन्न संघ संस्थाका प्रतिनिधि लगायत बालबालिकाको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै गोदावरी नगरपालिकाकी नगर उप प्रमुख शारदा देवी रोकायाले जोखिमयुक्त कामहरुमा बालबालिकाहरुलाई प्रयोग नर्गन आग्रह गरिन् । उनले बालबालिकाहरूको हक अधिकार संरक्षण गर्न नगरपालिका लागि परेको बताइन् । बालबालिकाहरूमाथि विभिन्न प्रकारका घरेलु हिंसादेखि अन्य प्रकारका घटनाहरू हुने हुँदा न्युनिकरणकालागि सबै निकाय सक्रिय भएर लाग्नुपर्ने बताइन् ।
यस्तै गोदावरी नगरपालिका महिला,बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख गोदावरी खत्रीले बालबालिकाको हकहित संरक्षणका लागि सरोकारवालाहरु गम्भीर भएर लाग्नुपर्ने बताईन् । उनले बालबालिका देशका कर्णाधार भएकोले उनीहरुको सुरक्षा गरि सत्मार्गमा डोर्याउन सबैले भुमीका खेल्नुपर्ने बताइन् । बालमैत्री नगर घोषणा गर्ने उदेश्यसहित नगरपालिकाले बालबालिकाको क्षेत्रमा काम गरिरहेको खत्रीको भनाई छ ।
संयुक्त राष्ट्रसङ्घको महासभाबाट सन् १९८९ को नोभेम्बर २० मा बाल अधिकारसम्बन्धी महासन्धि पारित भएको दिनलाई स्मरण गरी पक्षधर राष्ट्रले आजका दिन अन्तर्राष्ट्रिय बाल अधिकार दिवसको रुपमा मनाउँदै आएका छन् । बालबालिकाको बचावट, संरक्षण, विकास, सहभागितालगायत विषय कार्यान्वयन गरी बाल अधिकार सुनिश्चितताका लागि अन्तर्राष्ट्रिय बाल अधिकार दिवस विश्वभर मनाइँदै आएको हो । नेपालमा संयुक्त राष्ट्रसङ्घको बाल अधिकार महासन्धि, १९८९ का ४२ धारा सबै कार्यान्वयनमा छन् ।
