अत्तरिया : कैलालीको गोदावरी नगरपालिकामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको आज उद्धघाटन गरिएको छ । नगरपालिकाकी उपप्रमुख शारदा देवी रोकाया, प्रमुख प्रशासकिय अधिकृत हरिदत्त भट्ट र ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब उपरीक्षक गंगा बहादुर थापा लगायत जनप्रतिनिधीले सामुहिक रुपमा १६ ओटा मैनबत्ति बालेर कार्यक्रमको उद्घाटन गरेका हुन् ।
नगरपालिकाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाले उक्त अभियानको सञ्चालन गरेको हो ।
उद्घाटन कार्यक्रममा बोल्दै उपप्रमुख रोकायाले महिलामाथी बिभिन्न किसिमले हुने हिंसा अन्त्य हुनुपर्ने बताईन् । उनले महिलाहिंसा घरैबाट अन्त्य गर्नुपर्ने भन्दै महिला र पुरुषलाई समान नजरले हेर्नुपर्ने बताएकी छन् ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाकी महिला विकास निरीक्षक प्रेमा बडुले विभिन्न गैर सरकारी संस्थाहरुसंगको सहकार्यमा १६ दिनसम्म नगरपालिकाका बिभिन्न स्थानहरुमा जनचेतनामुलक कार्यक्रम गर्ने तथा स्थानीय सञ्चारमाध्यममा जनचेतनामुलक सामग्री प्रसारण र प्रकाशन गर्ने योजना रहेको बताईन् ।
उद्घाटन कार्यक्रममा गोदावरी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरिदत्त भट्ट, इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब उपरीक्षक गंगा बहादुर थापा, जनप्रतिनिधी, बिभिन्न संघ संस्थाका प्रतिनिधी लगायतको उपस्थिति रहेको थियो ।
हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभर मनाइने लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान आजदेखि ‘हामि सबैको प्रतिबद्धता,लैङ्गिक हिंसा बिरुद्ध ऐक्यबद्धता’ भन्ने राष्ट्रिय नाराका साथ देशव्यापीरुपमा मनाइँदै छ ।
