नेपालले यूएईलाई १९ रनले हराउँदै १९ वर्ष मुनिको प्रिमियर कपको उपाधि जित्यो

काठमाण्डौ : नेपालले यूएईलाई हराउँदै एसीसी १९ वर्ष मुनिको प्रिमियर कपको उपाधि जितेको छ । यूएईलाई डकवर्थ लेविस पद्धतिको आधारमा १९ रनले हराउँदै नेपाल च्याम्पियन बनेको हो ।

जितको लागि एक सय ९८ रनको विजयी लक्ष्य पछ्याएको यूएई २६ ओभर ५ बलमा १ सय ७८ रन बनाएर अल आउट भयो । जितको लागि २ सय ८१ रनको लक्ष्य पछ्याएको यूएईले ११ ओभरमा २ विकेट गुमाउँदै ५० रन बनाएको अवस्थामा वर्षाको कारण खेल रोकिएको थियो ।

त्यसपछि वर्षाको कारण लामो समय खेल रोकिँदा यूएईले २७ ओभरमा १ सय ९८ रनको लक्ष्य पाएको थियो । यूएईका ध्रुव पराशरले ४९ बलमा ५ चौका र २ छक्कासहित सर्वाधिक ५९ रन बनाए ।

कप्तान आयन खान २४ बलमा १ चौका र २ छक्कासहित ३० तथा अर्यांश शर्मा ३७ बलमा ३ चौका र १ छक्कासहित ३२ रन बनाए । अरु कुनै पनि यूएईका ब्याटरले राम्रो गर्न सकेनन् ।

नेपालका आकाश त्रिपाठीले ५ ओभरमा ३६ रन खर्चेर ४ विकेट लिए । सुवास भण्डारीले ५ ओभरमा ३९ रन खर्चेर ३ विकेट लिए । आकाश चन्दले २ र हेमन्त धामीले एक विकेट लिए ।

त्यसअघि मलेसियाको बायोमास ओभलमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ८० रन बनाएको थियो । नेपालको जितमा देव खनालले ९२ बलमा ९ चौका र ३ छक्कासहित सर्वाधिक १ सय रनको शतकीय इनिङ खेलेका थिए ।

कमजोर शुरुवात गरेको नेपाललाई अर्जुन र देव मिलेर तेस्रो विकेटका लागि एक सय ३२ बलमा एक सय २५ रनको शतकीय साझेदारी गरेका थिए । ओपनर दीपक बोहरा ५ र आकाश त्रिपाठी शून्यमा आउट भएका थिए ।

दीपक डुम्रे २८ रनमा आउट भए । पाँचौँ विकेटका लागि उत्तम र दीपक डुम्रेल ५८ रनको साझेदारी गरेका थिए । यूएईका तीव्र गतिका बलर हरित शेठ्ठीले ५ विकेट लिए । कप्तान आयन खानले २ विकेट लिए ।

नेपाल एसिया कपमा पनि छनोट भएको छ । नेपाल, यूएई र जापान प्रिमियर कपबाट एसिया कपको लागि छनोट भएका हुन् । एसिया कप आगामी डिसेम्बरमा पाकिस्तानमा हुनेछ ।

Deep Jyoti Pustak psl
Loading...