बझाङ : बझाङको केदारस्यूँ गाउँपालिकाको एउटा स्वास्थ्य केन्द्रमा सिआर मेसिन जडान भएको छ । गाउँपालिकाको मुख्य केन्द्र देउरामा रहेको रायल प्राथमिक स्वास्थ्य केन्द्रमा पहिलो पटक सिआर (कम्प्युटेड रेडियोग्राफी) मेसिन जडान भएको हो ।
यो आधुनिक प्रविधिले स्वास्थ्य सेवा प्रणालीलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ । स्वास्थ्य केन्द्रमा यो मेसिन जडान भएसँगै एक्स-रे सेवाहरू थप छिटो, सहज र गुणस्तरीय हुने भएको छ। अब रोगीहरूले डिजिटल एक्स-रे रिपोर्ट तुरुन्तै प्राप्त गर्न सक्नेछन्, जसले समयको बचत र उपचारमा सहजता ल्याउनेछ ।
एक्स-रे रिपोर्ट डिजिटल स्वरूपमा सुरक्षित राख्न र आवश्यकता अनुसार अन्य अस्पतालसँग सेयर गर्न सक्नेछन् । स्वास्थ्य केन्द्रका प्रमुख डाक्टर रोहित कुमार गिरीको विशेष पहलमा सुदूरपश्चिम प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले उक्त मेसिन उपलब्ध गराएको हो ।
सिआर मेसिनको जडानसँगै यस क्षेत्रमा गुणस्तरीय स्वास्थ्य सेवाको पहुँचमा सुधार आउने विश्वास गरिएको छ । यो पहलले ग्रामिण क्षेत्रमा आधुनिक स्वास्थ्य सेवा पु¥याउने अभियानमा उदाहरणीय योगदान पु¥याउनेछ ।
रायल प्राथमिक स्वास्थ्य केन्द्रबाट केदारस्यूँ गाउँपालिका भित्रका नागरिकले मात्र नभइ छिमेकी पालिका थलारा, बित्थडचिर, बुङ्गल, दुर्गाथलि, तथा छिमेकी जिल्ला डोटी र बैतडीका नागरिकले समेत स्वास्थ्य सेवा लिँदै आएका छन् ।