अत्तरिया : निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) गोदावरी नगर कमिटीको चौथो अधिवेशन सुरु भएको छ । बिहीबार गोदावरी नगरपालिकाकी उपप्रमुख शारदा देवी रोकायाको प्रमुख अतिथ्यतामा चौथो नगर अधिवेशन भएको हो ।
साधारण सभामा बोल्दै उपप्रमुख रोकायाले नगरपालिकाले संस्थागत र सामुदायिक विद्यालय बिच विभेद नगरिएको बताइन् । उनले नगरको समग्र शिक्षाको विकासका लागि संस्थागत र सामुदायिक विद्यालयको अहम् भूमिका रहेको बताइन् ।
कार्यक्रममा बोल्दै एभरेष्ट एकेडेमीका प्रिन्सिपल बन्सी चौधरीले सामुदायिक विद्यालयले जस्तै निजि तथा आवासिय बिद्यालयले पनि सेवा सुविधा पाउनुपर्ने बताएका छन् । उनले निजि विद्यालयका विद्यार्थीहरुलाई पनि सामुदायिक विद्यालय जस्तै दिवा खाजा,सेनेटरी प्याड लगायतका कार्यक्रमहरु लागुहुनुपर्ने बताएका छन् ।
दुर्गालक्ष्मी नमुना माविका प्रधानाध्यापक शिवराज जोशिले अत्तरिया क्षेत्रमा स्वच्छ र शैक्षिक प्रतिष्पर्धा नभएकाले बिद्यार्थी पलाएन हुने अवस्था आएको बताउदै उनले यसमा सबैको चिन्तन र मनन हुनुपर्ने बताए । सामुदायिक र निजि बिद्यालयका आ-आफ्नै समस्या हुने भएतापनि राजनितीले गर्दा सामुदायिकमा शिक्षामा त्यति अग्रसर नहुने उनको भनाई छ ।
यस्तै प्याब्सन केन्द्रीय सदस्य योगेन्द्र हमालले गुणस्तरीय शिक्षा र रोजगारको अभावमा युवा बिद्यार्थीहरु पछिल्लो समयमा बिदेशिने क्रम बढेको बताए । उनले बिदेशिने क्रमलाई रोक्नुपर्ने बताउदै उनिहरुलाई रोके मात्रै देश बन्ने नत्र भोलिको दिनमा ठुलो समस्या आउने बताएका छन् । प्याब्सन केन्द्रीय सदस्य हमालले सरकारले निजि विद्यालयलाई हेर्ने दृष्टिकोण पनि फरक रहेको बताए ।
नगरस्तरिय बोर्ड परिक्षा मर्यादित हुनुपर्ने र स्थानीय पाठ्यपुस्तक समयमै उपलब्ध हुनुपर्ने उनले बताए । दुर्गालक्ष्मी बहुमुखी क्याम्पसका पुर्व क्याम्पस प्रमुख तथा गोदावरी नगर शिक्षा समितिका सदस्य डम्बर बहादुर पालले नगरमा शैक्षिक सुधार ल्याउनमा सबैको ध्यान जान जरुरी रहेको बताउदै नगरपालिकाले पनि यस बिषयमा चिन्तन गरिरहेको बताए । उनले हरेक बिद्यालयहरुले शिक्षामा प्रतिष्पर्धात्मक रुपमा अगाढी बढ्नुपर्ने बताउदै गोदावरीको शिक्षालाई कसरी अगाडि बढाउने भनेर नगरमा पनि छलफल भईरहेको बताएका छन् । सरकारी विद्यालय सरह निजि विद्यालयले सेवासुविधा नपाएको कुराहरुमा ध्यानाकर्षण भएको उनको भनाई छ ।
प्याब्सन गोदावरीका अध्यक्ष श्याम खत्रीको अध्यक्षतामा सम्पन्न अधिवेशनको उद्घाटन सत्रमा दुर्गालक्ष्मी नमुना माविका प्रधानाध्यापक शिवराज जोशी, प्याब्सन केन्द्रीय सदस्य योगेन्द्र हमाल, नगर शिक्षक समिति सदस्य डा. डम्बर पाल, प्याब्सन केन्द्रीय उपाध्यक्ष जगवीर थापा, दुर्गालक्ष्मी बहुमुखी क्याम्पस प्रमुख नरेन्द्र ब. ऐर, प्याब्सन सुदूरपश्चिम अध्यक्ष, जिल्ला अध्यक्ष लगायत गोदावरीमा रहेका बिभिन्न निजी तथा आवासीय विद्यालयका प्रिन्सिपल, शिक्षक, शिक्षिकाको उपस्थिती रहेको थियो ।
अहिले साधारण सभाको बन्द सत्र जारी रहेको छ । बन्द सत्रबाट नयाँ कार्यसमिति चयन गरिने जनाइएको छ ।
