टीकापुर : कैलालीको टीकापुर विमानस्थल २७ वर्षपछि पुनः सञ्चालनमा आएको छ । आइतबार तारा एयरको वाइटी १७०१ नम्बरको ट्वीनअटर विमानले पहिलो उडान भरेर ६ कर्मचारी र १२ यात्रुसहित टीकापुरमा अवतरण गरेको हो ।
उद्घाटन कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुणकुमार चौधरी, टीकापुर नगरप्रमुख रामलाल डगौरा, र उद्योग वाणिज्य संघका प्रतिनिधिहरूले सहभागिता जनाएका थिए । राज्यमन्त्री चौधरीले विमानस्थल स्तरोन्नतिसँगै काठमाडौं-टीकापुर सिधा उडान सुरु गर्ने योजना रहेको बताए ।
टीकापुर विमानस्थलको पुनःसञ्चालन टीकापुर नगरपालिकाको पहलमा सम्भव भएको हो । यति एयरलाइन्सले काठमाडौं-नेपालगञ्ज उडान भर्नेछ भने नेपालगञ्जबाट तारा एयरले टीकापुरका लागि ‘कनेक्टिङ फ्लाइट’ सञ्चालन गर्नेछ ।
फ्लाइट तालिका अनुसार, प्रत्येक साता आइतबार र बिहीबार काठमाडौं-नेपालगञ्ज-टीकापुर र सोही मार्गमा फर्कने उडान हुनेछ । एकतर्फी भाडा ९ हजार रुपैयाँ निर्धारण गरिएको छ ।
नगरपालिकाले हरेक उडानका लागि न्यूनतम १५ सिटको रकम सुनिश्चित गर्ने सम्झौता गरेको छ । टिकट बिक्रीका लागि पथिल होलिडेजलाई आधिकारिक बिक्रेता नियुक्त गरिएको छ । यात्रुहरूले यति एयरलाइन्सको एप, ट्राभल एजेन्सी, खल्ती, र इसेवाबाट पनि टिकट खरिद गर्न सक्छन् ।
विमानस्थल सञ्चालनले कैलाली, बर्दिया, र सुर्खेतका स्थानीय बासिन्दालाई धनगढी र नेपालगञ्ज धाउनुपर्ने झन्झट अन्त्य गर्ने अपेक्षा गरिएको छ । सिद्धार्थ बिजनेस ग्रुपका प्रमुख कार्यकारी कृष्णप्रसाद न्यौपानेले यो पहलले टीकापुरलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न मद्दत गर्ने बताए ।
यस्तै, साँफेबगर नगरपालिकाले पनि आफ्नो विमानस्थल सञ्चालनका लागि तारा एयरसँग सहमति गरिसकेको छ । परीक्षण उडानपछि मात्र त्यहाँ नियमित सेवा सुरू हुनेछ ।