धनगढीमा महिला जागरण तथा विकास केन्द्रको सरोकारवालाहरुसंग छलफल

अत्तरिया : महिला जागरण तथा विकास केन्द्र (सिडब्लुएडि)ले सरोकारवालाहरु संग छलफल गरेको छ । बिहिबार धनगढीमा एक कार्यक्रमको आयोजना गर्दै केन्द्रले धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिकाका विभिन्न क्षेत्रमा काम गर्ने व्यक्तिहरुसंग महिला अधिकारको विषयमा छलफल गरेको हो ।

छलफलमा धनगढी तथा गोदावरीका विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थामा आवद्ध प्रतिनिधिहरु, कानुन व्यवसायी, स्थानीय समुहका महिलाहरु, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा लैङ्गिक समानता सामाजिक समावेशीकरण बिज्ञ तथा सिडब्लुएडिका अध्यक्ष डा.अनिता श्रेष्ठ र सिडब्लुएडिका रणनितिक सल्लाहकार अधिबक्ता प्रा.डा.शशी अधिकारीले बिषयगत रुपमा प्रस्तुती राखेका थिए ।

कार्यक्रममा बिभिन्न वडाका महिला समुहका प्रतिनिधी र सामाजिक परिचालिकाहरुले एक बर्ष सम्म गरिएका क्रियाकलाप सम्बन्धी जानकारी गर्नुका साथै समुदायका महिलाहरुमा आएको परिवर्तनका बारेमा प्रकाश पारेका थिए । गोदावरी नगरपालिकामा रुपा विश्वकर्मा सामाजिक परिचालिकाको रुपमा कार्यरत छन् भने धनगढी उपमहानगरपालिकामा देउ कुमारी विक छन् ।

महिला जागरण तथा विकास केन्द्रले कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ८ र ९ तथा गोदावरी नगरपालिका वडा नम्बर ७ र ८ का वडाहरुमा सिमान्तकृत महिला र बालबालिकाहरुको अधिकार सुनिश्चित गर्न कार्यक्रम सञ्चालन गरिरहेको छ ।

महिला जागरण तथा विकास केन्द्रले समुदायका नेताहरु र महिला समुहका सदस्यको सहभगिता गराई उनिहरुको न्याय पहुँच र क्षमता अभिबृद्धि गर्ने लक्ष्य राखेको छ । कैलालीको गोदावरी र धनगढीमा २०८० माघ देखि शुरु गरिएको कार्यक्रम ३ बर्ष सम्म सञ्चालन रहने बताईएको छ ।

सन् १९९७ मा स्थापना भएको यो संस्थाको मुख्य लक्ष्य नेपालमा महिला र बालबालिकाको अधिकारको संरक्षण एवंम प्रवर्द्धनमा केन्द्रित रहेको छ । यस्ले न्यायमा पहुँच सुनिश्चित गर्नुका साथै विभेद र हिंसा न्यूनिकरण सम्बन्धी कार्यकमहरु आयोजना गर्दै आईरहेको छ ।

Loading...