अत्तरिया : कैलालीको अत्तरिया रहेको एपेक्स एकेडेमीले आज एकदिने कृषि मेला आयोजना गरेको छ ।
विद्यालयले दशै र तिहार बिदामा विद्यार्थीहरूलाई तरकारीको बीउ वितरण गरेको थियो । उक्त बीउबाट बालबालिकाहरूले तरकारी उत्पादन गरी बिक्री वितरणका लागि विद्यालयमा ल्याएका थिए । तिनै उत्पादन विक्री गर्न मेलाको आयोजना गरिएको हो ।
विद्यालयका प्रधानाध्यापक समीर महराले विध्यार्थीलाई कृषि प्रती आकर्षित गर्न मेला आयोजना गरिएको बताए । उनले हरेक बालबालिकाले भविष्यमा के बन्नुहुन्छ भन्दा किसान बन्छु भन्ने जवाफ आउने वातावरण सिर्जना गर्न आवश्यक रहेको र तब मात्र देश विकास सम्भव छ भन्ने उदेश्यका साथ उक्त कार्यक्रमको आयोजा गरिएको विद्यालयका प्रधानाध्यापक महराले बताए ।
यस मेला मार्फत विद्यार्थीहरूलाई कृषि क्षेत्रमा रुचि जगाउन तथा उद्यमशीलताको प्रोत्साहन गर्न विद्यालयले विशेष प्रयास गरेको छ ।
विद्यार्थीहरुले उत्पादन गरेर ल्याएका सम्पुर्ण तरकारी स्थानिय र विद्यार्थीका अभिभावकले किनेका थिए । बिक्री हुन बाँकि रहेका तरकारी स्कुल प्रशासनले किनेको थियो । गृहकार्यको रुपमा बिद्यार्थीले आफुले पाएको बिउ रोप्ने देखि उम्रदा र हुर्कदा सम्मको प्रक्रिया अवलोकन अनि बेच बिखन गर्न बिद्यालयले सिकाएको थियो ।