धनगढी : आजदेखि धनगढीमा राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सव सुरु हुने भएको छ । आयोजक नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघ कैलालीले सोमवार पत्रकार सम्मेलन गर्दै पुस ९ गते आजदेखि १५ गतेसम्म सञ्चालन हुने महोत्सवको सम्पूर्ण तयारी पूरा भएको बताएको हो ।
पुस्तक तथा स्टेशनरी व्यवसायी संघ कैलालीका अध्यक्ष भीम पडालका अनुसार १४ वर्षपछि धनगढीमा राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सव आयोजना गर्न लागिएको हो । सुदूरपश्चिम प्रदेशको पर्यटन, शिक्षा, स्टेशनरी, मसलन्द तथा छपाई व्यवसायको विकास तथा संस्कृतिको प्रवद्र्धनका लागि महोत्सव आयोजना गरिएको अध्यक्ष पडालले बताए । महोत्सवमा सुदुरपश्चिम प्रदेशका साथै देश र विदेशमा रहेका प्रकाशक, स्टेशनरी वितरक, शैक्षिक संस्था, मसलन्द सामाग्री, शिक्षण संस्थाहरु र शिक्षासँग सम्वन्धित निकायहरुका गरी एक सय बढी स्टल रहनेछन् ।
महोत्सवलाई दुई लाख दर्शकले अवलोकन गर्नुका साथै ५ करोड बढीको कारोवार हुने तथा महोत्सव आयोजन गर्नलाई झण्डै दुई करोड वढी खर्च हुने अनुमान गरिएको आयेजकले जनाएको छ । धनगढी उपमहानगरपालिका-१ पशुपति टोलमा महोत्सव सञ्चालन हुनेछ ।
महोत्सवमा विद्यालय स्तरीय नृत्य, कविता, वक्तृत्वकला र चित्रकला प्रतियोगिताहरु आयोजना बताए । उनका अनुसार त्यसमा आधारभूत र माध्यमिक तह गरी दुई विधामा प्रतिस्पर्धा हुनेछ । महोत्सवमा रमाइलो मेलाका साथै राष्ट्रिय कलाकारहरुको पनि प्रस्तुती रहने बताउँदै उनले सुदूरपश्चिमका परिकारसहितका खाना र खाजाका स्टल राखिएको बताए ।
शिक्षा र खेलकुदसँग सम्बन्धित विभिन्न विषयहरुमा बहस पनि सञ्चालन तथा त्यसमा मदन पुरस्कार विजेता साहित्यकारहरुका साथै विभिन्न क्षेत्रका ख्यातिप्राप्त व्यक्तित्वहरुको पनि सहभागीता रहने जनाइएको छ ।
महोत्सव अवलोकनका लागि विद्यालय र क्याम्पसका विद्यार्थीहरु सामुहिक रुपमा पोशाकमा आएमा निशुल्क प्रवेश, अन्य विद्यार्थी स्वस्फुर्त रुपमा आएमा रु ५० टिकटदर राखिएको र सर्वसाधारणलाई रु १०० राखिएको छ । जेष्ठ नागरिक र फरक क्षमता भएका व्यक्तीहरुलाई महोत्सवमा प्रवेश निशुल्कको व्यवस्था गरिएको जनाइएको छ ।
महोत्सवको मंगलबार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले उद्धघाटन गर्ने कार्यक्रम तय भएको छ । महोत्सव उद्घाटन अघि धनगढीको ट्राफिक चौराहदेखि महोत्सव स्थल पशुपति टोलसम्म प्रभातफेरीको आयोजना हुने जनाइएको छ ।
२०६७ सालमा आयोजना गरिएको बृहत राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सव १४ वर्षपछि धनगढीमा आयोजना हुन लागेको हो ।