अत्तरियामा एक जना मृत भेटिए, धनगढी र दार्चुलामा सवारी दुर्घटनामा दुई घाईते

बझाङमा बालिकालाई ठक्कर दिएर जिपचालक फरार

धनगढी : कैलालीको अत्तरियामा एक जना मृत अवस्थामा फेला परेका छन् । गोदावरी नगरपालिका-२ तेघरीका ४६ वर्षीय मनोज भट्ट मृत अवस्थामा फेला परेका इलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी गंगाबहादुर थापाले बताए । उनले यस बारेमा थप अनुसन्धान भईरहेको बताएका छन् ।

यस्तै कैलालीको धनगढीमा स्कुटिले साइकललाइ ठक्कर दिदा एक महिला घाइते भएकी छन् । धनगढी उपमहानगरपालिका-१ मा से ४ प ८२४३ नम्बरको स्कुुटिले साइकलयात्री २० वर्षीया रिता चौधरीलाइ ठक्कर दिदा उनि घाइते भएकी हुन् । घाइते रिताको निसर्ग अस्पताल धनगढीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

उता दार्चुलाको ब्यास गाउँपालिकाको एम्बुलेन्स दुर्घटनामा परेको छ । ब्यास गाउँपालिका-३ गल्था नजिक सोमबार राति एम्बुलेन्स दुर्घटनामा परेको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार ब्यास गाउँपालिकाको सुन्सेरामा सुदूरपश्चिम प्रदेश ०१००१ च ३८३० नम्बरको एम्बुलेन्स दुर्घटना हुँदा चालक बिरा डडाल घाइते भएका छन् । गाउँपालिकाको केन्द्र सुन्सेराबाट आफ्नो घर गल्था जाने क्रममा एम्बुलेन्स तिंकर सडकबाट करिब एक सय ५० मिटर तल खसेको थियो । घाइते चालकलाई उपचारका लागि जिल्ला अस्पताल ल्याइएको थियो । जिल्लामा उपचार सम्भव नभएपछि उनलाई भारतको पिथौरागढ रिफर गरिएको ब्यास गाउँपालिकाले जनाएको छ ।

त्यस्तै बझाङमा जिपले ठक्कर दिँदा एक बालिका घाइते भएकी छन् । जिल्लाको जयपृथ्वी नगरपालिका-१०, खेइराकी १२ वर्षीया नविना कुँवर घाइते भएकी हुन् । विद्यालयबाट घर फर्किरहेकी कुँवरलाई दिउँसो २ बजेतिर सुदूरपश्चिम प्रदेश २-०२००१ च ०४६२ नम्बरको जिपले बसपार्कनजिकै ठक्कर दिएको थियो ।

घाइते बालिकाको जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको छ । बालिकालाई ठक्कर दिने जिपका चालक थलारा गाउँपालिकाका ३२ वर्षीय कमल थापा घटनापछि फरार छन् । जिप भने प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी निरीक्षक जयबहादुर डाँगीको नेतृत्वको टोलीले फरार चालकको खोजी गरिरहेको प्रहरीले जनाएको छ ।

Dhn_Tihar & Chhat 2082
Loading...