कैलारीको बसौटीका स्थानीय अन्नबाली जोगाउन पालैपालो रातभर जाग्राम बस्दैँ

कैलालीको कैलारी गाउँपालिकामा बाली जोगाउने रातभरि जाग्राम बस्नु परेको छ । कैलारी गाउँपालिकामा –२, बसौटीका स्थानीयले अन्नबाली जोगाउन पालैपालो रातभर जाग्राम बस्नु परेको हो ।
अहिले बसौटीका बासिन्दाले खेतबारीमा रहेको अन्नबाली छाडा चौपायाबाट जोगाउन रातभरि पहरा दिने गरेको त्यहाँका स्थानीयले बताएका छन । बसौटी गाउँमा २०६ घरधुरीको बसोबास गर्ने गरेको स्थानीय बासु चौधरीले जानकारी दिनुभएको छ । स्थानीय करमदेव सामुदायिक वनबाट आउने छाडा चौपायाले बाली सखाप पार्न थालेपछि दिनरात बाली कुर्न बस्नुपरेको स्थानीयवासी बताउँछन् ।
स्थानीयले सामुदायिक वनको दुई वटा प्रवेशद्वारमै गेटसहित पहरा घर अर्थात् टहरा बनाएका छन् । स्थानीयले पहरा दिन ८ समूह बनाएका छन् । ८ समूहभित्र पनि ३,३ वटा उपसमूह छन् । ती उपसमूहका ७ र÷८ जना मानिसको समूहले राति जाग्राम बसेर पहरा दिँदै आएका हुन् । कैलारी गाउँपालिका–६, सुर्मीका स्थानीयहरूले भने छाडा गाईगोरु जङ्गलमा छाड्ने र थुन्ने कार्य दैनिक गर्दै आएका छन् । स्थानीय वसन्त चौधरीका अनुसार गाउँलेहरूले सामुदायिक वनको छेउमा चौपाया थुन्न टहरा बनाएका छन्, जहाँ एक सय छाडाचौपाया राख्न सकिन्छ । तिनीहरूको व्यवस्थापन तथा छाड्ने र थुन्ने कार्यको लागि प्रत्येक दिन १८ र२० जना खटिँदै आएका छन् । ११६ घरधुरी रहेको सुर्मी गाउँमा ६ समूह गाईगोरु व्यवस्थापनमा खटिँदै आएको छ । यसरी नै सुर्मी गाउँका स्थानीयहरू खेतबारीको अन्न जोगाउन वर्षभरि पालैपालो खटिँदै आएका छन् । तर टोलीमा नखटिन नचाहने व्यक्तिले भने वार्षिक १ हजार रुपैयाँ गाउँ समाजलाई बुझाउनुपर्ने नियम बनाइएको छ ।
कैलाली जिल्लामा पछिल्लो समय छाडा चौपाया समस्या विकराल बनेको छ । सुदूरपश्चिम प्रदेशको तराई जिल्ला कैलाली र कञ्चनपुर जिल्लामा छाडा चौपाया व्यवस्थापन चुनौतीपूर्ण बनेको हो । छाडा चौपायाले बाली नष्ट हुन थालेपछि किसानहरू चिन्तित बनेका छन् ।

Loading...