कञ्चनपुरमा भारतीय प्रेमीसँग मिलेर श्रीमानको हत्या

अत्तरिया : कञ्चनपुरमा भारतीय प्रेमीसँग मिलेर एक महिलाले श्रीमानको हत्या गरेकी छन । जिल्लाको बेलौरी नगरपालिका–६ भुराकोटका ४९ वर्षीया सियाराम नाराको श्रीमतीले प्रेमीसँग मिलेर हत्या गरेकी खुलेको हो ।

भारतको खिरी जिल्ला, सम्पूर्ण नगरका फारुख नाम गरेका प्रेमीको योजनामा जनककुमारी रानाले श्रीमानको इटाले प्रहार गरेर हत्या गरेकी हुन। रानाको शव २०८१ मङ्सिर १३ गते उनकै घरमा फेला परेको थियो । दोस्रो दिन प्रहरीले श्रीमती जनककुमारीलाई नियन्त्रणमा लिएको थियो । जनककुमारीलाई पूर्पक्षका लागि कारागार पठाइएको कञ्चनपुर प्रहरीले बताएको छ । उनका प्रेमी भारतीय नागरिक २०८१ पुस २८ गते पक्राउ गरेका छन । घटनास्थलमा भारतीय नागरिक फारुख नभएपनि योजना बनाएको पाइएको जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका प्रवक्ता उमेशराज जोशीले बताए । बिमा रकम हत्याउने उद्देश्यले भारतीयसँग मिलेर योजनाबद्ध रूपमा हत्या गरेको पाइएको प्रहरीले जनाएको हो ।

मृतक सियाराम रानाले नेपाल लाइफ इन्स्योरेन्समा २८ लाखको जीवन बिमा गरेकाले उक्त रकम हत्याउने उद्देश्यले नै उनको हत्या गरिएको प्रहरी अनुसन्धानबाट देखिएको छ । भारतीय नागरिक फारुखले योजना बनाएपनि हत्या भने स्वयंम श्रीमतीले नै गरेको बयान प्रहरीलाई दिइएकी छन । भारतीय नागरिकविरुद्ध कर्तव्य ज्यान मुद्‍दामा १० दिनको म्याद थपेर अनुसन्धान भइरहेको छ । उनीहरूले रानाको हत्या गरेर शौचालयमा चिप्लिएर रानाको मृत्यु भएको भन्दै प्रहरीलाई खबर गरेका थिए । तर, मृतकको शव शौचालयमा नभएर घरको ग्यालरीको कुनामा सिरकले छोपिएको अवस्थामा भेटिएपछि प्रहरीले अनुसन्धान थालेको हो ।

मृतकको टाउको र तालुमा रहेको चोटका आधारमा प्रहरीले घटनाको अनुसन्धान गरेको थियो । रानाको घर कोठा खानतलासी गर्दा कोठा, कुर्सी, ढोका लगायतका ठाउँमा रगत लागेको भेटिएको थियो । खाटमुनी रगत लागेको इटा भेटिएको थियो । दराजमा महिला र पुरुषले लगाउने कपडा रगतले भिजेको अवस्थामा फेला परेका थिए । सोधपुछका क्रममा मृतककी श्रीमती रानाले बिहीबार बिहान दुवै जनाबिच झगडा भएको र दिउँसो सुतेका बेला इटा प्रहार गरि हत्या गरेको स्वीकार गरेपछि उनलाई पक्राउ गरेर मुद्‍दा चलाइएको हो । श्रीमतीमाथि अनुसन्धान गर्ने क्रममा भारतीयसँग मिलेर हत्या गरेको तथ्य फेला परेको प्रहरीले जनाएको छ ।

Loading...