अत्तरिया : कैलालीको गोदावरी नगरपालिकाले यौन तथा प्रजनन् स्वास्थ्य अधिकारसम्बन्धी कानुन निर्माण गरेको छ । लामो समयसम्मको छलफल र बहसपछि तयार गरिएको ‘गोदावरी नगरपालिका सुरक्षित मातृत्व तथा प्रजनन् अधिकार ऐन २०८१’ बिहीबार एक कार्यक्रमका बीच नगरपालिकालाई हस्तान्तरण गरिएको हो ।
कार्यक्रममा नगर उपप्रमुख शारदादेवी रोकाया र स्वास्थ्य शाखा प्रमुख नवराज अवस्थीलाई कानुनको मस्यौदा हस्तान्तरण गरियो । उपप्रमुख रोकायाले यो ऐनले विशेषगरी महिला र किशोरीहरूलाई राहत पुर्याउने विश्वास व्यक्त गरिन्। उनले ऐन निर्माणको क्रममा धेरै किशोरीहरूले प्रजनन् अधिकारबारे जानकार हुने अवसर पाएको बताइन् ।
कानुन निर्माणमा महिला, कानुन र विकास मञ्च (एफडब्लुएलडी), केयर नेपाल, सिआरआर, र निड्स संस्थाको सहकार्य रहेको थियो । स्वास्थ्य शाखा प्रमुख अवस्थीले कानुन निर्माणमा योगदान पुर्याउने सबैलाई धन्यवाद दिंदै नागरिकलाई सेवा दिन सजिलो हुने विश्वास व्यक्त गरे। उनले ग्रामीण क्षेत्रमा पनि यस ऐनले प्रजनन् स्वास्थ्यबारे जनचेतना फैलाएको बताए ।
अधिवक्ता सविन श्रेष्ठले नेपालको संविधानमा प्रजनन् अधिकारको व्यवस्था भए पनि यसको प्रभावकारी कार्यान्वयन नदेखिएको टिप्पणी गरे । उनले गोदावरी नगरपालिका सुदूरपश्चिममा यौन तथा प्रजनन् अधिकार सम्बन्धी कानुन निर्माण गर्ने पहिलो पालिका भएको उल्लेख गर्दै अन्य पालिकाहरूले यसलाई अनुकरण गर्ने विश्वास व्यक्त गरे ।
कार्यक्रमको सञ्चालन केयर नेपालका कालिदास जोशीले गरेका थिए। कार्यक्रममा विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, कर्मचारी, र पत्रकारहरूको उपस्थिति थियो । नयाँ कानुनले पालिकाका कर्मचारीलाई काम गर्न सजिलो बनाउनुका साथै स्थानीय नागरिकका लागि सेवा प्रवाहमा थप सहजता ल्याउने अपेक्षा गरिएको छ ।