अत्तरिया : कैलालीको अत्तरियामा रहेको सामुदायिक सिकाइ केन्द्र (सीएलसी) को वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिवार गोदावरी नगरपालिकाका नगरप्रमुख वीरेन्द्र भट्टको प्रमुख आतिथ्यतामा केन्द्रको साधारण सभा सम्पन्न भएको हो ।
सामुदायिक सिकाइ केन्द्रका अध्यक्ष टिका दत्त जोशीको अध्यक्षतामा सम्पन्न साधारण सभाको उद्घाटन सत्रमा गोदावरी नगरपालिकाकी उप प्रमुख शारदा देवी रोकाया, चुरे गाउँपालिकाकी उपाध्यक्ष धना थापा, गोदावरीको वडा नम्बर १ का अध्यक्ष गोपाल दत्त भट्ट, वडा नम्बर ४ का अध्यक्ष हेम प्रकाश मल्ल लगायत जनप्रतिनिधि, समाजसेवी र बुद्धिजीवीको उपस्थिति रहेको थियो । साधारण सभामा सिकाइ केन्द्रको मुख पत्र पनि विमोचन गरिएको थियो ।
साधारण सभामा सिकाई केन्द्रका सचिव हरिलाल ओझाले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रतिवेदन अनुसार संस्थाले आर्थिक वर्ष ०८०/०८१ मा ९ लाख ३० हजार ३२४ रुपैयाँ आम्दानी गरेको छ भने ६ लाख १४ हजार ७१६ रुपैयाँ खर्च गरेको छ ।
२०६० सालमा स्थापना भएको सामुदायिक सिकाइ केन्द्रले स्थानीय स्तरमा शिक्षा, सीप र सशक्तीकरणका कार्यक्रम सञ्चालन गर्दै आएको छ । हाल गोदावरीमा ५ वटा सामुदायिक सिकाइ केन्द्र रहेका छन् ।
