कैलालीमा भोलि चतुर्दशी दसैं मनाइने

अत्तरिया : कैलालीको गौरीगंगा नगरपालिकामा भोलि चतुर्दशी दसैं मनाइने भएको छ।

तिथि अनुसार आश्विन शुक्ल चतुर्दशीका दिन दसैं मनाइने भएपनि दिनगन्तीका हिसाबले बडा दसैँको चौथो दिन अर्थात् शनिवारका दिन चतुर्दशी दसैँ मनाइने भएको हो।

वर्षौदेखि साविकको मसुरियास्थित लिक्मामा चतुर्दशी दसैँ मनाइने गरिन्छ। कैलालीको मसुरियाबासीहरुले हरेक वर्ष चतुर्दशीका दिन दुर्गा भवानीको पूजाआजा गरी राँगो बलि दिने गर्दछन्।

राँगालाई महिषासुरको प्रतिक मानेर गाउँघरमा डुलाई पूजा आजा गराएर चतुर्दशीका दिन बेलुकी घाम अस्ताउने बेलामा दुर्गा भवानीलाई खुसी पार्न बलि दिने गर्छन्।

बलि दिँदा ब्राह्मणद्वारा संकल्प बोलेर सुदूरपश्चिमबासीको खुसी, समृद्धि र प्रगतिको कामना गर्ने गरिन्छ।

राँगो बलि दिनुअघि दसैँको दोस्रो दिनदेखि नै राँगोलाई स्थानीयको घरघरमा लगेर पूजाआजा गराउने र चतुर्दशीका दिन परम्परागत भोस्सो (एक प्रकारको संस्कृति) कवाज (दमाहाको तालमा नाङ्गो तरवाल नचाउँदै एक आपसमा बहादुरीको लयमा खेलिने खेल) खेल्ने गरिन्छ।

दसैंको चौथो दिन हरेक वर्ष लिक्मामा चतुर्दशी दसैँ मनाउने गरिएको दसैं व्यवस्थापन समितिका अध्यक्ष गोपाल कलेलले बताए। २०५२ सालदेखि लिक्मामा चतुर्दशी दसैं मनाउने गरिन्छ।

दिनभर मानिसहरु भेटघाट गर्ने, भोस्सो तथा कवाज खेल्ने र रातभर डेउडा खेलिने गरेको सुदूर संस्कृतिका जानकार तथा डेउडा गायक सुरत रावत ‘डोटेली कान्छा’ले बताए।

चतुर्दशी दसैंमा डोटी, कैलाली, कञ्चनपुरका ग्रामीण भेगबाट दर्शनार्थीहरु डेउडा खेल्न तथा रमाइलो गर्न लिक्मा पुग्ने गर्दछन्।

Loading...