अत्तरिया : कैलालीको गोदावरी नगरपालिकामा किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप लगाइने भएको छ । आगामी माघ २२ गते देखि फागुन ६ गतेसम्म देशभर सरकारले सुरु गर्न लागेको खोप अभियानअन्तर्गत गोदावरीमा पनि खोप लगाइने भएको हो ।
१० देखि १४ वर्ष उमेर समूहका ६ हजार ६ सय ६४ किशोरीलाई एचपिभी खोप लगाइने गोदावरी नगरपालिका स्वास्थ्य शाखा प्रमुख नवराज अवस्थीले जानकारी दिए । स्वास्थ्य शाखाले आज (सोमबार) आयोजना गरेको नगर स्तरीय खोप समन्वय समिति तथा सञ्चारकर्मीलाई अभिमुखिकरणमा बोल्दै शाखा प्रमुख अवस्थीले कक्षा ६ देखि १० सम्मका ६ हजार ६ सय २४ र विद्यालयबाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका ४० किशोरीलाई खोप लगाइने बताए ।
युनिसेफको सहयोगमा नगरका १२ ओटै वडामा पुगेर स्वास्थ्य शाखाले तथ्यांक संकलन गरेको थियो । खोप लगाउन ६३ वटा विद्यालय र १८ वटा स्वास्थ्य संस्था गरि ८१ स्थानमा खोप केन्द्र निर्धारण गरिएको छ । खोप अभियानलाई सफल पार्न ११७ स्वास्थ्यकर्मी, १०६ जना स्वयंसेविका र १८२ जना स्ययंसेवक खटिने स्वास्थ्य शाखा प्रमुख अवस्थीले बताए ।
विद्यालय र खोपकेन्द्रमा छुटेका लक्षित समूहलाई फेरि कुनै निश्चित ठाँउमा भेला गरि खोप लगाउने उदेश्य रहेको पनि उनले बताएका छन् । सरकारले देशभरिका कक्षा ६ देखि १० सम्मका १० देखि १४ वर्ष उमेर समूहका १६ लाख ८८ हजार नौ सय किशोरीलाई लक्षित गरी विश्व क्यान्सर दिवस (फेब्रुअरी ४) को सन्दर्भ पारेर एचपिभी खोप अभियान सञ्चालन गर्न लागेको हो ।
यो खोप लगाएपछि ९० देखि ९५ प्रतिशतसम्म पाठेघरको मुखको क्यान्सरबाट सुरक्षा प्रदान गर्ने बताइन्छ । महिलामा हुने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर नेपालमा पहिलो स्थानमा छ भने स्तन क्यान्सर दोस्रोमा पर्छ ।
