अत्तरिया : कैलालीको गोदावरी नगरपालिकाको टोलीले खुटिया नदीको अनुगमन गरेको छ । नगरपालिकाको टोलीले शुक्रबार वडा नं. ९ सेहरी क्षेत्रको खुटिया नदीमा अनुगमन गरेको हो ।
अनुगमनमा नगरप्रमुख विरेन्द्र भट्ट, उपप्रमुख शारदा देवी रोकाया, प्रमुख प्रशासकिय अधिकृत हरिदत्त भट्ट, वडा नं. ९ का वडाध्यक्ष रामलाल राना लगायतको उपस्थिति रहेको थियो । अनुगमनका क्रममा प्रारम्भिक वातावरणीय परीक्षण (आईई) नगरेको ठाउँबाट नदीजन्य पर्दाथ उठाएको पाइएको भन्दै नगर प्रमुख भट्ट आफैले एउटा ट्रयाक्टर नियन्त्रणमा लिएका थिए ।
उनले कानुन विपरीत गतिविधि भइरहेको पत्ता लागेपछि आफूले ट्रयाक्टरलाई नियन्त्रणमा लिएको बताएका छन । नियन्त्रणमा लिईएका सवारी साधनहरुलाई कानुन बमोजिम कारबाही गरिने उनले बताए ।
बिहिबार कैलालीका प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमाल, जिल्ला समन्वय समितिकी अध्यक्ष टीका कुमारी चौधरी (भुल) सहितको टोलीले खुटिया नदीमा अनुगमन गरेको थियो । अनुगमनका क्रममा अवैध उत्खनन् गरिरहेका २६ वटा सवारी साधनहरुलाई नियन्त्रणमा लिएको बताईएपनि ८ वटा सवारी साधन मात्रै ईलाका प्रहरी कार्यालय मालाखेतीमा पुगेका थिए ।
