चुरेमा फागुन २ गतेदेखी वडा अध्यक्ष कप भलिबल प्रतियोगिता हुदै, गण्डकी प्रदेश प्रमुख भट्टले उद्घाटन गर्ने
सोहि दिन वडा स्तरिय अन्तर्गत अतिरिक्त क्रियाकलाप पनि हुने
अत्तरिया : कैलालीको चुरेमा फागुन २ गतेदेखी सातौँ वडा अध्यक्ष कप पुरुष तथा महिला भलिबल प्रतियोगिता हुने भएको छ । चुरे गाउँपालिका वडा नम्बर ६ को आयोजनामा आर्थिक बर्ष २०८१/०८२ को बार्षिक स्वीकृत कार्यक्रम अनुसार ‘वडा अध्यक्ष कप’ शिर्षक अन्तर्गत उक्त प्रतियोगिता हुने भएको हो ।
प्रतियोगितामा पुरुष र महिला दुबैका लागि समान पुरस्कार राशि क्रमशः प्रथम हुने टिमलाइ १२ हजार, द्वितीयलाइ ७ हजार र तृतीयलाई ४ हजार रुपैया सहित प्रमाणपत्र प्रदान गरिने वडा अध्यक्ष प्रेम बहादुर साउदले बताएका छन् ।
यस्तै वडा अध्यक्ष भलिबल प्रतियोगिता संगै वडा स्तरिय अन्तर्गत अतिरिक्त क्रियाकलाप कार्यक्रम पनि सोहि दिन हुने वडा अध्यक्ष साउदले बताए ।
अतिरिक्त कार्यक्रममा कक्षा ९ देखी १२ सम्मका लागि ‘प्राबिधिक शिक्षा आजको आवश्यकता’ शिर्षकमा बक्तृत्वकला प्रतियोगिता, कक्षा ६ देखी ८ सम्मका लागि हाजिरीजवाफ प्रतियोगिता, कक्षा ४ देखी ५ सम्मका लागि अंग्रेजी हिज्जे प्रतियोगिता, कक्षा १ देखी ३ सम्मका लागि हिसाब दौड, अभिभावक र शिक्षकका लागि घैटो फोर कार्यक्रम र बिद्यालय व्यवस्थापन समिती, शिक्षक, संघसंस्थाका लागि पेनाल्टि सुट प्रतियोगिता हुने भएको छ ।
दुबै कार्यक्रम सोहिदिन बिहान १० बजे देखी वडा कार्यालयको खेलमैदान धनेडिमा सञ्चालन हुने वडा अध्यक्ष साउदले बताए ।
कार्यक्रमको उद्घाटन गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले गर्ने कार्यक्रम तय भएको बताईएको छ ।
