टीकापुरका युवा प्राध्यापक नासाको अनुसन्धान परियोजनाको नेतृत्व गर्दै

टीकापुर : कैलालीको टीकापुरका एक युवा प्राध्यापकले अमेरिकी अन्तरिक्ष अनुसन्धान संस्था (नासा) को एक अनुसन्धान परियोजनाको नेतृत्व गर्ने अवसर प्राप्त गरेका छन ।

सन् २०२५ अगस्टदेखि अमेरिकाको टेक्सस क्रिस्टियन युनिभर्सिटीको कम्प्युटर साइन्स विभागमा आर्टिफिसियल इन्टेलिजेन्स तथा मेसिन लर्निङ विषयमा सह–प्राध्यापक पदमा कार्यरत टीकापुर नगरपालिका – १ का डाक्टर चेतराज पाण्डेले यो अवसर हात पार्न सफल भएका हुन ।

अमेरिकी अन्तरिक्ष अनुसन्धान संस्था (नासा) ले विश्वविद्यालयलाई ३६ लाख अमेरिकी डलर डार्क स्काइज टु डीप टाइम नामक परियोजना प्रदान गरेको हो । डाक्टर पाण्डे सो परियोजनामा को–प्रिन्सिपल इनभेस्टिगेटरका रूपमा संलग्न रहने छन् । परियोजनाको नेतृत्व डाक्टर रियान्नोन मेनीले गर्नेछन् ।

छ वर्षअघि विद्यार्थी भिसामा अमेरिका अध्ययन गर्न गएका डाक्टर पाण्डेले पूर्ण छात्रवृत्तिमा अमेरिकाको जर्जिया स्टेट युनिभर्सिटीबाट कम्प्युटर साइन्समा स्नातकोत्तरसहित सन् २०२५ मै विद्यावारिधि पूरा गरेका छन ।

सहप्राध्यापकका रूपमा काम सुरु गरेको पहिलो वर्षमै नासाको अनुसन्धान परियोजनामा नेतृत्व गर्ने यो महत्वपूर्ण अवसर हो । डाक्टर पाण्डेले उक्त अवसरलाई आफ्नो शैक्षिक तथा अनुसन्धान यात्राको ठूलो उपलब्धिका रुपमा लिएको बताए ।

Loading...