अत्तरिया : कैलालीको अत्तरिया हस्पिटलले सामाजिक उत्तरदायित्वअन्तर्गत अत्तरियामा रहेको समता स्कुललाई शैक्षिक सामग्री प्रदान गरेको छ । करिब ३ सय विद्यार्थीलाई पुग्ने स्टेश्नरी सामग्री हस्पिटलले हस्तान्तरण गरेको हो ।
अस्पतालका सञ्चालक डा.रोजी जोशीका अनुसार हस्पिटलले स्वास्थ्य, शिक्षा तथा सामाजिक सेवामा योगदान दिँदै आएको छ । “समाजप्रति जिम्मेवारी बोध गर्दै हामीले विद्यार्थीको अध्ययन सहज बनाउन सहयोग गरेका हौं,” उनले भनिन्।
एक सय शय्याको क्षमतासहित सञ्चालनमा रहेको अत्तरिया हस्पिटलले समय समयमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ । साथै, विपन्न तथा बेसहारालाई आवश्यक सहयोग उपलब्ध गराउँदै आएको अस्पताल प्रशासनले जनाएको छ ।
समाजसेवा मार्फत स्थानीय स्तरमा सकारात्मक प्रभाव पार्ने उद्देश्यले गरिएको यस पहललाई विद्यालय प्रशासन र विद्यार्थीले स्वागत गरेका छन् । विद्यालयका प्रधानाध्यापकले हस्पिटललाई धन्यवाद दिँदै यस सहयोगले विद्यार्थीको शैक्षिक यात्रामा टेवा पुर्याउने विश्वास व्यक्त गरे ।
