अत्तरियाको सक्षम पाठशालाले मनायो १०औँ वार्षिकोत्सव

कार्यक्रममा विभिन्न व्यक्तित्वहरुलाई सम्मान

अत्तरिया : कैलालीको अत्तरियामा रहेको सक्षम पाठशालाले १०औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न गरेको छ । विद्यालयका अध्यक्ष भुवनबहादुर पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गोदावरी नगरपालिकाका नगरप्रमुख विरेन्द्र भट्ट प्रमुख अतिथि रहेका थिए ।

कार्यक्रममा प्याब्सन केन्द्रीय उपाध्यक्ष जगबीर थापा, दुर्गा लक्ष्मी बहुमुखी क्याम्पस प्रमुख डा.नरेन्द्र ऐर लगायत समाजसेवी, शिक्षक, शिक्षिका, बिद्यार्थी, अभिभावक र बुद्धिजीवीहरूको उपस्थिती रहेको थियो ।

वार्षिकोत्सव समारोहमा विद्यालयका विद्यार्थीहरूले नृत्य, गायन तथा विभिन्न प्रस्तुति प्रदर्शन गरी आ-आफ्ना प्रतिभाहरू प्रस्तुत गरेका थिए । कार्यक्रममा विभिन्न खेलकुद तथा अन्य शैक्षिक विधामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई प्रमाणपत्रसहित पुरस्कृत गरिएको थियो । यस्तै कार्यक्रममा समाज परिवर्तनका लागि योगदान गरेका बिभिन्न क्षेत्रका व्यक्तिहरुलाई सम्मान गरिएको छ ।

विद्यालयका प्रिन्सिपल तर्कराज भट्टराईले शिक्षाको गुणस्तर अभिवृद्धिमा विद्यालयले विशेष ध्यान दिइरहेको बताउदै उनले प्रविधिमैत्री शिक्षा प्रणालीलाई प्राथमिकता दिँदै विद्यार्थीलाई २१औँ शताब्दीका आवश्यकतासँग मेल खाने शिक्षा प्रदान गरिरहेको बताए । सक्षम पाठशालाले छोटो समयमा प्राप्त गरेको सफलताले स्थानीय शैक्षिक क्षेत्रमै सकारात्मक प्रभाव पार्दै आएको छ ।

२०७१ सालमा स्थापना भई १३० विद्यार्थीबाट सुरु भएको सक्षम पाठशालामा हाल ६ सय विद्यार्थीहरुले अध्ययन गरिरहेका छन् । नर्सरीदेखि कक्षा ८ सम्मको अध्ययन-अध्यापन सञ्चालन गर्दै आएको यस विद्यालयले प्रविधि र आधुनिक शिक्षालाई विशेष प्राथमिकता दिँदै आएको विद्यालयका प्रिन्सिपल भट्टराईले बताए ।

Loading...