कञ्चनपुरमा निकुञ्ज क्षेत्रबाहिर एक हजारभन्दा बढी जलपन्छी

कञ्चनपुरमा संरक्षित क्षेत्रबाहिर विभिन्न प्रजातिका एक हजार बढी जलपन्छीको अभिलेख भएको छ । जिल्लाका विभिन्न तालतलैयामा विभिन्न प्रजातिका एक हजार ८ सय ६३ जलपन्छीको अभिलेख भएको हो ।

यसवर्ष हिउँदमा गणना गर्दा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रबाहिर रहेका सिमसार क्षेत्रमा सो संख्यामा जलपन्छी भेटिएका हुन् । गत जनवरीमा जलपन्छीको गणना गरिएको थियो ।

बेलौरी नगरपालिका –६ स्थित पुरैनी तालमा ७६३ जलपन्छी अभिलेख गरिएको छ । यस्तै, सोही पालिकाको वडा ७ मा रहेको नकैया सिमसार क्षेत्रमा ६१ वटा जलपन्छी अभिलेख गरिएको छ । नकैया क्षेत्रमा यसैवर्ष सारस पनि देखिएका थिए ।

बेलौरी नगरपालिका –१, २ र ३ मा पर्ने बन्दा तालमा ४२० वटा जलपन्छी भेटिएको जनाइएको छ । त्यस्तै, बेलडाँडी गाउँपालिकामा रहेको रतनपुर फार्म ल्याण्ड क्षेत्रमा विभिन्न प्रजातिका ४८० वटा जलपन्छी अभिलेख भएको चराविद हिरुलाल डङ्गौराले जानकारी दिए।

जाडो छल्न उत्तरी ध्रुवबाट यहाँका सिमसारमा विभिन्न प्रजातिका पाहुना जलपन्छी पुगेको बेला हरेक वर्ष जलपन्छीको गणना गर्ने गरिन्छ । विगतको तुलनामा जलपन्छी घटेको पाइएको डङ्गौराले बताए । चराको प्राकृतिक वासस्थानको विनाश र मानवीय हस्तक्षेपका कारण जलपन्छीको सङ्ख्या घट्दै गएको उनको भनाइ छ ।

Dhangadhi 2081
Loading...