गोदावरीमा प्रस्तावित क्रिकेट रङ्गशालाको क्यानका अध्यक्ष सहितको टोलीद्धारा निरीक्षण

अत्तरिया : कैलालीको गोदावरी नगरपालिकाको प्रस्तावित गोदावरी अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निरीक्षण गरिएको छ । आज (बिहीबार) क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) का अध्यक्ष चतुर बहादुर चन्द सहितको टोलीले रङ्गशालाको निरीक्षण गरेको हो ।

प्रस्तावित रङ्गशालाको निरीक्षण गर्दै अध्यक्ष चन्दले तत्काल क्रिकेट आउट फिल्ड लेभलिङ र पिच निर्माणका लागि विज्ञ टोली पठाउने बताए । उनले रङ्गशाला निर्माण भएसँगै सुदूरपश्चिमको क्रिकेट विकासलाई टेवा पुग्ने विश्वास व्यक्त गरे । सुदूरपश्चिम प्रदेशकै केन्द्र र सबै जिल्लाको पाईक पर्ने ठाउँमा भएकाले यस्को प्रक्रियाका लागि अगाडी बढ्न सुझाव दिएका छन ।

गोदावरी नगरपालिकाका नगरप्रमुख विरेन्द्र भट्टले अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि नगरपालिकाले आवश्यक पहल गरिरहेको जानकारी गराए । उनले स्थानीय सरकार खेलकुद विकासमा महत्वपूर्ण भूमिका खेल्ने भएकाले क्रिकेट मैदान निर्माणलाई गोदावरी नगरपालिकाले विशेष प्राथमिकता दिइएको बताएका छन ।

‘अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि गोदावरी नगरपालिका वडा नम्बर ३ मा निर्माण भईरहेको फोहोरमैला व्यवस्थापन केन्द्र पछाडि रहेको ४६ विघा जमिन प्रयोग गरिनेछ, खालि मैदान जमिन छ,त्यहा कुनै बोटबिरुवा पनि छैनन् ।’ उनले भने ‘नगरपालिकाको बजेटले मात्र पर्याप्त नहुने भएकाले अन्य निकायहरूसँग सहकार्य गर्ने योजना बनाएका छौ, आगामी पाँच देखि छ वर्षभित्र अन्तर्राष्ट्रिय स्तरको रङ्गशाला निर्माण गर्ने लक्ष्य रहेको छ ।’

गोदावरी नगरपालिका-३ मा रहेको उक्त प्रस्तावित रङ्गशालाको निरीक्षणका क्रममा सुदूरपश्चिम प्रदेश क्रिकेट सङ्घका अध्यक्ष वासुदेव जोशी, गोदावरी नगरपालिकाका नगरप्रमुख भट्ट लगायतको सहभागिता रहेको थियो ।

Loading...