दुर्गालक्ष्मी सामुदायिक वनको १५औँ साधारण सभा सम्पन्न

अत्तरिया : कैलालीको अत्तरिया स्थित दुर्गालक्ष्मी महिला सामुदायिक वन उपभोक्ता समुहको १५औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । गोदावरी नगरपालिका २ मा रहेको उक्त सामुदायिक वनको बिहीबार एक औपचारिक कार्यक्रमका विच सम्पन्न भएको हो ।

उक्त सामुदायिक वन उपभोक्ता समुहकी अध्यक्ष सिवा कडायतको सभापतित्वमा आयोजित कार्यक्रममा गोदावरी नगरपालिकाकी उपप्रमुख शारदा देवी रोकाया प्रमुख अतिथी रहेकी थिईन् ।

साधारण सभामा अध्यक्ष कडायतले आगामी आर्थिक वर्षको कार्य योजना प्रस्तुत गरेकी थिइन । उनले आगामी आर्थिक वर्षका लागि १८ लाख ३० हजार ४४१ को अनुमानित बजेट पेस गरिन् । उनले विनियोजित बजेटको ३५ प्रतिशत जीविकोपार्जनका लागि खर्च गरिने र २५ प्रतिशत वन विकासका लागि खर्च गरिने बताइन । यस्तै बाकी संस्थागत विकास, सामाजिक विकास र अन्य शीर्षकमा खर्च गरिने बताइन् । सामुदायिक वनले आर्थिक वर्ष २०८०/०८१ मा १५ लाख २६ हजार ५०२ रुपैयाँ आम्दानी गरेको थियो ।

कार्यक्रममा वनकी कोषाध्यक्ष सविना भण्डारीले आर्थिक वर्ष २०८०/०८१ मा ३४ लाख ७० हजार रुपैयाँ बराबरको आयव्यय प्रतिवेदन विवरण सार्वजनिक गरेकी थिईन् ।

कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासङ्घ, नेपाल (फेकोफन) की गोदावरी नगर अध्यक्ष यादी रावत, गोदावरी नगरपालिका वडा नम्बर २ का पूर्व वडाध्यक्ष कृष्णराज जोशी लगायत बिभिन्न संघसंस्थाका प्रतिनिधी सहित उपभोक्ताहरुको उपस्थिती रहेको थियो । कार्यक्रमको सञ्चालन वनकी सचिव संगिता विश्वकर्माले गरेकी थिईन् ।

२०६४ सालमा स्थापना भएको १७४.७ हेक्टर क्षेत्रफल रहेको वनमा करिब ६०० जना उपभोक्ताहरू रहेका छन् ।

Dhangadhi 2081
Loading...