काठमाडौं : यस बर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) आगामी चैत ७ गतेदेखि सुरु हुँदैछ । परीक्षाको लागि जिल्ला-जिल्लामा प्रश्नपत्र पुगेको छ ।
परीक्षा नियन्त्रण कार्यालयका नियन्त्रक नन्दलाल पौडेका अनुसार काठमाडौंमा मात्र बाँकी छ। ‘प्रश्नपत्र छपाईको काम सकेर जिल्ला जिल्लामा गइसकेको छ ।
मधेश र बागमतीको केही जिल्लामा आज गएको छ । अरु ठाउँमा पुगिसक्यो,’ उनले भने ।

एसईईका लागि ५ लाख २२ हजार विद्यार्थीले फार भरेका छन् । परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० का अनुसार २०८१ को एसईईका लागि नियमिततर्फ ४ लाख ६८ हजार, ग्रेड वृद्धिका लागि ५० हजार (२०८०) र पुराना ग्रेड वृद्धिकै लागि ४ हजार (२०७८-०७९) ले फारम भरेका हुन् ।
परीक्षा केन्द्र २१ सय ३१ वटा तोकिएको छ । परीक्षा केन्द्र केही थपघट हुनसक्ने कार्यालयले जनाएको छ ।
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले सार्वजनिक गरेको परीक्षा तालिकाअनुसार परीक्षा चैत १९ गतेसम्म सञ्चालन हुनेछ ।
पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा सञ्चालन हुनेछ । संस्कृततर्फ अनिवार्य संस्कृत रचना वा अंग्रेजी र मदरसातर्फ अनिवार्य अरेविक भाषा वा अंग्रेजी परीक्षा हुनेछ । परीक्षा तालिकामा पहिलोपटक मदरसाको पनि उल्लेख गरिएको छ । यसअघि साधारणधार वा संस्कृततर्फको मात्र उल्लेख गरिन्थ्यो । अनिवार्य गणित, अनिवार्य विज्ञान तथा प्रविधि विषयलाई एक एक दिन समय दिइएको छ ।
