डोटी : डोटीको जोरायल क्षेत्र र डडेल्धुराको आलिताल गाउँपालिका लगायतका केही क्षेत्रमा आज (बिहीबार) साँझ ५ बजे अचानक असिना सहितको भारी वर्षा भएको छ । मौसममा आएको यो आकस्मिक परिवर्तनले स्थानीय किसानहरूलाई ठूलो नोक्सानी पुर्याएको छ ।
असिना पानीका कारण किसानहरूले लगाएको अन्न, तरकारी तथा भर्खरै फुल्न थालेका फलफूलमा ठूलो क्षति पुगेको छ । गहुँ, केराउ, मटर, आलु, लसुन, प्याज, बन्दा, काउली जस्ता तरकारी बाली तथा सुन्तला, जुनार कागती, अमिलो, स्याउ, नास्पाती जस्ता फलफूलका फूल असिनाले झारेको छ । स्थानीय किसानहरूका अनुसार असिनाले गहुँ र जौंका बाला पनि झारेको छ भने तरकारीको बोट नै भाँचिएको छ ।
जोरायल क्षेत्रका किसान खडक मल्लका अनुसार असिनाले खेतीको ठूलो भाग नष्ट गरेको छ । उनले भने, “असिनाले हाम्रो महिनौंको मेहनत एकैछिनमा बर्बाद गर्यो । अब उत्पादनमा भारी गिरावट आउने निश्चित छ । हामी ऋण लिएर खेती गर्छौं, यस्तो बेलामा सरकारले राहतको व्यवस्था गर्नु जरुरी छ ।”
मौसमको यो आकस्मिक परिवर्तनले किसानहरूको आर्थिक अवस्था कमजोर हुने चिन्ता बढाएको छ । अधिकांश किसानहरूले ऋण लिएर खेतीपाती गर्ने भएकाले असिना पानीले थप समस्या निम्त्याएको छ । कृषि जानकारहरूका अनुसार यो समयमा फलफूल र तरकारीमा फूल र डाँठ विकासको चरणमा हुने हुँदा असिनाले प्रत्यक्ष असर पुर्याउँछ । यदि मौसम तुरुन्तै नखुल्ने हो भने थप क्षति हुने सम्भावना रहेको कृषि विकास साखा जोरायलका कृषि प्राविधिक चन्द्र बहादुर सार्कीले बताए ।