आज तराई तथा मधेसमा होली मनाइँदै

अत्तरिया : रङहरूको पर्व होली आज तराई तथा मधेसका जिल्लामा हर्षोल्लासपूर्वक मनाइँदै छ । हिमाली एवं पहाडी जिल्लामा होली (फागुपूर्णिमा) मनाइएको भोलिपल्ट तराईका जिल्लामा होली मनाउने परम्पराअनुसार आज यस क्षेत्रमा होली मनाउन लागिएको हो ।

आज नवलपरासी (बर्दघाट सुस्तापूर्व), नवलपरासी (बर्दघाट सुस्तापश्चिम), चितवन, झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, उदयपुर, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, रूपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर लगायत जिल्लामा होली मनाइँदै छ ।

पहाडी समुदायको बाहुल्यता रहेका सुदूरपश्चिमका तराइका जिल्लामा भने बिहिबार पनि होली खेलिएको थियो । पछिल्ला वर्षहरूमा सुदूर तराईका जिल्लामा पहाडी जिल्लाका बासिन्दाको बसोबासको बाहुल्यता बढेसँगै विगतझैं यस वर्ष पनि विगतका वर्षझैं यस वर्ष पनि होली मनाइएको छ । तराईका जिल्लाको होली अक्सर रंगको पर्वका रूपमा मात्र सीमित हुन्छ । त्यो पनि युवा पुस्ताहरूले आधुनिक गीतसंगीतका साथ रंगिएर नाच्ने गरिन्छ ।

होली पर्वका केही धार्मिक तथा सांस्कृतिक मूल्यमान्यता पनि छन् । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात होली पर्वलाई वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने पर्वका रूपमा पनि मनाउने प्रचलन कायम रहिआएको छ ।

सबै प्रकारका भेदभावलाई भष्म गरी परस्परमा रङ हाल्दै सबैलाई रसरङ्गले तरङ्गित तुल्याउने होली उल्लास र रङ्गीचङ्गीको पर्वका रूपमा लिने गरिन्छ । प्राचीनकालमा वसन्तोत्सवका रूपमा स्थापित यो पर्व कालान्तरमा प्रह्लाद, कृष्ण, होलिका, ढुण्ढा आदिका माध्यमले फागु, फगुवा, होली, होरी आदि नाउँबाट मनाउन थालिएको जानकारहरु बताउदछन् ।

रसरङ्ग, नाचगान, खानपिन, मनोरञ्जन र आफ्नो रङमा अरूलाई रङ्ग्याउने, ढोल, डम्फु, मृदङ्ग बजाउँदै भेदभाव, मनोमालिन्य त्याग्दै भ्रातृत्व भावना बढाउने यस पर्वको आफ्नै गरिमा छ ।

पहाडी जिल्लामा होलीको बिहीबार सार्वजनिक बिदा दिइएको भए पनि तराईका जिल्लामा आज सार्वजनिक बिदा दिइएको छ ।

Nabadurga Sunchadi
Loading...