कञ्चनपुरका ६ क्याम्पसको परिणाम सार्वजनिक, ४ मा नेवि संघ र २ मा अखिल क्रान्तिकारी विजयी
७ क्याम्पसमा चुनाव भएन
कञ्चनपुर : त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गत कञ्चनपुरका ६ क्याम्पसमा मंगलबार भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) मतपरिणाम सार्वजनिक भएको छ ।
दोधारा चाँदनीको भानु बहुमुखी क्याम्पस, बेलडाँडीको रौलेश्वर आदर्श, बेलौरीको महाकाली बहुमुखी, पुनर्वासको जनता बहुमुखी, कलकत्ताको रामपुर बहुमुखी क्याम्पस र गुलरियाको कञ्चन बहुमुखी क्याम्पसमा भएको चुनावको परिणाम सार्वजनिक भएको हो ।
अन्तिम नतिजा अनुसार ४ क्याम्पसमा नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेवि सघ), २ क्याम्पसमा नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी विजयी भएका छ्न । पुनर्वासको जनता बहुमुखी क्याम्पसमा नेवि संघका विकास खड्का प्यानलसहित विजयी भएका छन् ।
बेलडाँडीको रौलेश्वर आदर्श बहुमुखी क्याम्पसमा नेवि संघका मोहन जैसी विजयी भएका छ्न । दोधारा चाँदनीको भानु बहुमुखी क्याम्पसमा नेवि संघका सुवास नेगी प्यानलसहित विजयी भएका छन् । कञ्चन बहुमुखी क्याम्पसमा नेवि सघका सुनिल ऎर विजयी भएका छ्न ।
बेलौरीको रामपुर बहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारीकी रविना राना प्यानलसहित निर्वाचित भएकी छिन । बेलौरीकै महाकाली बहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारीका दीपक चौधरी निर्वाचन भएका छ्न ।
यसअघि कृष्ण बैजनाथ बहुमुखी क्याम्पस झलारी र दानेश्वर बहुमुखी क्याम्पसमा भने निर्विरोध स्ववियु चयन भइसकेको छ । झलारीस्थित कृष्ण बैजनाथ क्याम्पसमा नेविसंघको सभापतित्वमा अखिल क्रान्तिकारी र अनेरास्ववियु सहितको भागबण्डा भएको हो । त्यस्तै, दानेश्वर बहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानलै निर्विरोध निर्वाचित भएको थियो ।
७ क्याम्पसमा चुनाव भएन
त्रिवि अन्तरगत कञ्चनपुरको सिद्धनाथ विज्ञान क्याम्पस सहित कञ्चन विद्या मन्दिर सामुदायिक कलेज, जनज्योति, घटाल, उदय सरस्वती, वारिधी, बालजागृति सहित ७ क्याम्पसमा निर्वाचन हुन सकेन ।
