धनगढी सिप मेलामा तालिम लिएकाहरूलाई नवजीवन सहकारीको बिना धितो ऋण सुविधा

धनगढी : धनगढी उपमहानगरपालिकाले आयोजना गरेको सिप तथा रोजगार मेलाबाट तालिम लिएकाहरूलाई नवजीवन सहकारी संस्थाले बिना धितो ऋण दिने भएको छ ।

नवजीवन सहकारी संस्थाका अध्यक्ष देबबहादुर बम नेतृत्वको टोलीले तालिम लिइरहेकाहरूलाई व्यवसाय सञ्चालनका लागि ऋण दिने घोषणा गरेको छ । समूहमा ऋण लिनेहरूका लागि धितो आवश्यक नपर्ने तर व्यक्तिगत ऋणका लागि धितो आवश्यक पर्ने सहकारीले स्पष्ट पारेको छ ।

अध्यक्ष बमका अनुसार प्रशिक्षार्थीहरूको समूह बनाई सहकारीका कर्मचारीमार्फत ऋण प्रक्रियालाई सहज बनाइने छ । ऋणका लागि आवश्यक कागजात तथा प्रारम्भिक शुल्क बुझाएर प्रक्रिया पूरा गर्न सकिनेछ ।

नवजीवन सहकारीमा ३८.९ प्रतिशत महिला सदस्य रहेको र महिलाहरूले समूहगत रूपमा ५० हजार रुपैयाँदेखि माथि ऋण सुविधा लिन सक्ने सहकारीले जनाएको छ।

सन् १९९३ मा स्थापना भएको नवजीवन सहकारी संस्था हाल सुदूरपश्चिम तथा लुम्बिनी प्रदेशमा १० शाखासहित क्रियाशील छ । ३३ हजारभन्दा बढी शेयर सदस्य रहेको यस सहकारीले हालसम्म ४३७ करोड रुपैयाँ निक्षेप सङ्कलन गरी ४०४ करोड रुपैयाँ कर्जा प्रवाह गरिसकेको छ ।

सहकारीले कृषकहरूबाट धान खरिद गरी चामल उत्पादन तथा बिक्रीको कार्यसमेत सुरु गरिसकेको अध्यक्ष बमले जानकारी दिएका छन् ।

Nabadurga Sunchadi
Loading...