अत्तरिया उद्योग वाणिज्य संघका मनोनीत सदस्यको पद बदर

विधान अनुसार चल्न अध्यक्षलाई निर्देशन

अत्तरिया : कैलालीको अत्तरियामा रहेको अत्तरिया उद्योग वाणिज्य संघमा नयाँ मनोनीत गरिएका ६ जना सदस्यहरूको पद अदालतले बदर गरेको छ। संघका वरिष्ठ उपाध्यक्षसहित ५ जना पदाधिकारी र ६ जना सदस्यहरूले राजीनामा दिएपछि अध्यक्ष कल्याण सिँ बोहराले सदस्यहरूको पदपूर्ति गर्ने भन्दै ६ जनालाई मनोनीत गरेका थिए । तर सो विषयमा उच्च अदालत दिपायलमा मुद्दा परेको थियो ।

सो मुद्दामा फागुन १३ गते उच्च अदालतका न्यायाधीश डण्डपाणि शर्मा र अस्मिन कुमार राईको संयुक्त इजलासले मनोनीत गरिएका सदस्यहरूको पद बदर गर्ने फैसला सुनाएको हो । अदालतको फैसला अनुसार अध्यक्ष बोहराले संघको विधान विपरीत सदस्यहरू मनोनीत गरेका थिए ।

यसअघि सदस्य मनोनीतका क्रममा बोहराले संघको विधान २०७१ मा टेकेर सदस्यहरू मनोनीत गरिएको बताएका थिए । उनले जिल्ला प्रशासन कार्यालय सँगको छलफल पश्चात् उक्त निर्णय गरिएको पनि बताएका थिए । तर सदस्यहरूको मनोनीतका विषयमा विधानको प्रतिकुल नहुने गरी कामकारबाही गर्न जिल्ला प्रशासन कार्यालयले आदेश दिएको बताएका बोहराको सदस्य मनोनीतको निर्णय अदालतले भने विधान विपरीत रहेको ठह-याएको छ ।

जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले अदालतको आदेश अनुसार नै प्रशासनले कामकारबाही अघि बढाउने बताएका छन्। अदालतले बदर गरेका सदस्यहरूको पद स्वतः बदर भएको र बाँकी कार्यको हकमा अदालतको निर्देशानुसार गरिने उनले बताए ।

यता संघका अध्यक्ष बोहराले भने आफूहरूले विधान बमोजिम नै कार्य गरेको बताएका छन् । अदालतले बदरको फैसला सुनाएकोमा अचम्म मान्दै उनले संघको विधान बमोजिम नै निर्णय गर्दा पनि विधान विपरीत भनिएको बताए । उनले अब जिल्ला प्रशासनको निर्णय बमोजिम कार्य गरिने बताएका छन् ।

Nabadurga Sunchadi
Loading...