दुर्गालक्ष्मीमा स्ववियु निर्वाचनमा विवाद, संयुक्त अखिलद्वारा निर्वाचन प्रक्रिया यथाशीघ्र अगाढी बढाउन माग

२ प्यानल चुनावी मैदानमा, सभापतिमा भुवन र बम

अत्तरिया : सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गतको कैलालीको अत्तरियामा रहेको दुर्गालक्ष्मी बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन प्रक्रियामा भएको विवादमा अझै सहमति जुटेको छैन् । समानुपातिक उम्मेदवारीका विषयमा परेको दाबी विरोधमा निष्कर्ष ननिस्किएपछि विवाद सुरु भएको थियो ।

उक्त विवादले निर्वाचन प्रक्रिया नै अन्योलमा परेको छ । सोमबार परेको समानुपातिक उम्मेदवारीमा संयुक्त अखिलले प्रक्रिया मिचेको भन्दै नेविसंघले दाबी विरोधको निवेदन दर्ता गराएको थियो । नेविसंघले संगठन दर्ता नभएको संयुक्त अखिलबाट उम्मेदवारी दर्ता गर्नु अवैध भएको दाबी गर्दै खारेजीको माग राखेको छ। उता संयुक्त अखिलले भने ५ संगठन मिलेर बनेको संयुक्त अखिलबाट सबै प्रक्रिया पुरा गरेर उम्मेदवारी दर्ता भएको जनाएको छ ।

सोहि बिषयमा मंगलबार र बुधबार दुईदिन छलफल भए पनि कुनै निष्कर्ष ननिस्किँदा निर्वाचन कार्यतालिका प्रभावित भएको छ । निर्वाचन अधिकृतको कार्यालय पनि उक्त बिषयमा अहिले सम्म कुनै निष्कर्षमा पुग्न सकेको छैन । निर्वाचन अधिकृत लोक बहादुर महराले छलफल जारी राखेको भए पनि सहमति हुन नसकेको बताए । उनले अझै पनि सहमतिको प्रयास जारी रहेको बताएका छन्।

यस्तै संयुक्त अखिलले निर्वाचन प्रक्रिया यथाशिघ्र अगाढी बढाउन माग गरेको छ । बुधबार क्याम्पस प्रमुुखलाई ध्यानाकर्षण पत्र बुझाउदै निर्वाचन प्रक्रिया यथाशिघ्र अगाढी बढाउन माग गरेको हो । संयुक्त अखिलबाट सभापतिका उम्मेदवार बमबहादुर विकले नेविसंघले चुनाव हार्ने डरले अवरोध सिर्जना गरेको आरोप लगाए।

‘नेविसंघले उम्मेदवारको नामावली माथि दाविविरोध गर्नुपर्नेमा संगठन उपर दाविबिरोध गरी अनावश्यक बिवाद सृजना गरी नियोजित ढंगले निर्वाचन स्थगित गर्न निर्वाचन समिती, क्याम्पस प्रसासन लगायत नेविसंघको गलत भुमिका देखिएको छ।’ उनले भने ‘व्यक्ति विशेषलाई लिएर दाबी विरोध गर्नु पर्नेमा संगठन विरुद्ध नै विवाद सिर्जना गर्नुको कुनै औचित्य नै छैन,तर क्याम्पस प्रशासन समेत चुनाव नहुने पक्षमा उभिएको देख्दा अचम्म लाग्यो,यसरी विद्यार्थीको हकअधिकारमाथि प्रहार गर्नु गलत हो,यथाशीघ्र निर्वाचन प्रक्रिया अगाढी बढाउन हाम्रो माग छ ।’

निर्वाचन प्रक्रिया यथाशीघ्र अगाढी नबढाएमा चरणबद्ध आन्दोलन गर्ने संयुक्त अखिलले चेतावनी दिएको छ । दुवै संगठनले आ-आफ्नो अडान कायमै राख्दा निर्वाचन प्रभावित हुने जोखिम बढेको छ ।

निर्वाचन कार्यतालिका अनुसार मंगलबार नै दाबी विरोधपछि उम्मेदवारी नामावली प्रकाशन गर्ने कार्यतालिका रहे पनि विवादकै कारण बुधबारसम्म पनि उक्त प्रक्रिया अघि बढ्न सकेको छैन् ।

सोमबार स्ववियुको नयाँ नेतृत्व चयनका लागि संयुक्त अखिल र नेपाल विद्यार्थी संघ (नेविसंघ) ले उम्मेदवारी दर्ता गरेका छन् । जसमा प्रत्यक्ष तर्फ ११-११ र समानुपातिकका लागि ८-८ जनाको उम्मेदवारी परेको छ ।

बम बहादुर विक र भुवन महरा स्ववियु सभापति उम्मेदवार

सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गतको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि दुर्गालक्ष्मी बहुमुखी क्याम्पसबाट २ प्यानल सहित उम्मेदवारी परेका छन् । ५ विद्यार्थी संगठन मिलेर बनेको संयुक्त अखिल प्यानलबाट स्ववियु सभापतिमा अखिल क्रान्तिकारीका बम बहादुर विक उम्मेदवार रहेका छन् । सचिवमा अनेरास्ववियुका गणेश नाथ योगीले उम्मेदवारी दिएका छन् भने कोषाध्यक्षमा अनेरास्ववियुकै दीपिका जोशीले उम्मेदवारी दर्ता गराएकी छन् ।

उक्त प्यानलमा समाजवादी, वैद्य, विप्लव, अखिल छैटौँका उम्मेदवारहरूले पनि मनोनयन दर्ता गराएका छन् । सदस्यमा नीरज मडै, डम्मरी ओली, भागरथी खड्का, कमला कुमारी दर्लामी, सोहित खनाल, धिरज बोकटी र सावित्री कामी रहेका छन् ।

यस्तै नेविसंघबाट सभापतिमा भुवन महराले उम्मेदवारी दर्ता गरेका छन् । सचिवमा ज्योति शाहु र कोषाध्यक्षमा सोनिया शाहले उम्मेदवार दिएकी छन् । सदस्यमा बिपना कुँवर, विष्णु नेगी, तारा कुमारी भट्टराई, रोजिना खड्का, गोविन्द सिंह महरा, महेन्द्र खत्री, विवेक डगौरा र कल्पना साउँद रहेका छन् ।

सभापतिका उम्मेदवार भुवन यसअघिको निर्वाचनबाट स्ववियु सभापति निर्वाचन भएका थिए भने बम पनि यसअघि सचिवमा निर्वाचित भएका थिए ।

दुर्गालक्ष्मी बहुमुखी क्याम्पसमा हाल १ हजार १२८ जना मतदाता रहेका छन् । सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गत चैत २७ गते स्ववियु निर्वाचन हुँदै छ ।

Nabadurga Sunchadi
Loading...