अत्तरिया : कैलालीको अत्तरियामा ‘दुर्गालक्ष्मी दौडिन्छ’ म्याराथन दौड प्रतियोगिता आयोजना हुने भएको छ । दुर्गालक्ष्मी नमुना माविको स्वर्ण महोत्सवको अवसर पारेर दुर्गालक्ष्मी मावि पूर्व विद्यार्थी मञ्चको आयोजनमा यहि चैत २९ गते म्याराथन दौड आयोजना गर्न लागिएको बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै मञ्चका अध्यक्ष नारद प्रसाद भट्टले दुर्गालक्ष्मी नमुना माविले स्थापनाको ५० वर्ष पुगेको अवसरमा चैत २७, २८ र २९ गते स्वर्ण महोत्सव मनाउन लागेकाले सोही अवसरमा दुर्गालक्ष्मी दौड प्रतियोगिताको आयोजना गरिएको बताए । उनले यस क्षेत्रमा बसोबास गर्ने आम जनसमुदायलाई दौडको महत्त्व झल्काउने गरी पूर्व विद्यार्थीहरूमा एकता, सद्भाव र भाइचारा अभिवृद्धि गर्न दौड प्रतियोगिता आयोजना गरिएको बताए ।
दौड प्रतियोगितामा जुनसुकै उमेर समूहका जुनसुकै व्यक्तिले सहभागी हुन पाउने भएका छन् । उक्त दौड प्रतियोगितामा प्रथम हुनेलाई २१ हजार १११, द्धितिय हुनेलाई ११ हजार १११ र तृतीय हुनेलाई ५ हजार १११ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
दौड प्रतियोगितामा सहभागिताका लागि ५ सय रुपैयाँ नाम दर्ता शुल्क तोकिएको छ। नाम दर्ता गराउनेलाई पूर्व विद्यार्थी मञ्च दुर्गालक्ष्मी मावि उल्लेख भएको चिन्ह अङ्कित जर्सी (टी-सर्ट) दिइने जनाइएको छ । दौड प्रतियोगिता बिहान साढे ६ बजेदेखि सुरु हुने जनाइएको छ । दौड प्रतियोगिता दुर्गालक्ष्मी नमुना माविबाट सुरु भएर गोदावरीको वनदेवी मन्दिर पुगेर पुनः दुर्गालक्ष्मी नमुना मावि सम्म पुगेर सम्पन्न हुनेछ ।
पत्रकार सम्मेलनमा बोल्दै दुर्गालक्ष्मी नमुना माविका अध्यक्ष गणेश शाहले यस विद्यालयमा अध्ययन गरी संसारभरी छरिएर रहेका विद्यार्थीलाई एकजुट गरी पूर्व विद्यार्थी मञ्च गठन गरिएको बताए । उनले पूर्व विद्यार्थी मञ्च गठन भएको छोटो समयमै ठुलो कार्यक्रमको आयोजना गर्नु आफैमा ठुलो सफलता भएको बताए । चैत १६ गते पूर्व विद्यार्थी मञ्च गठन गरिएको थियो ।
