डडेल्धुरा: डडेल्धुराको अमरगढी नगरपालिकामा अधिकांश सौर्य सडक बत्ती बिग्रिएपछि साँझपख सडक र बजार क्षेत्रमा अन्धकार छाउने गरेको छ। २०७४ सालमा १ लाख रुपैयाँ खर्चमा जडान गरिएका १२३ वटा सौर्य बत्तीमध्ये अधिकांश बिग्रिएका हुन्। मर्मत नहुँदा सर्वसाधारण, विद्यार्थी र व्यवसायीहरू प्रभावित छन्।
बत्ती नहुँदा हिँडडुल, चोरी तथा डकैतीको जोखिम बढेको स्थानीयको गुनासो छ। प्रहरीका अनुसार अन्धकारले सुरक्षा चुनौती थपेको छ। विद्यार्थी सबिन भट्टराईले बिहान कलेज जाँदा मोबाइलको टर्च बाल्नुपरेको बताए।
नगरपालिकाले बजेट अभावका कारण मर्मत गर्न नसकेको जनाएको छ। इन्जिनियर कविन्द्र भट्टका अनुसार बत्ती मर्मतमा करिब १० लाख लाग्नेछ। विगतमा संघीय सरकारबाट बजेट आउँथे, तर अहिले नआएकोले काम रोकिएको हो। सर्भे भइरहेको र बजेट आएपछि मर्मत थालिने जनाइएको छ।
