धनगढी : धनगढी उपमहानगरपालिकाले यो वर्ष सञ्चालन गरेको आधारभूत तह कक्षा ८ को परीक्षाको नतिजामा सुधार भएको छ । बुधवार उपमहानगरपालिकाले सार्वजनिक गरेको शैक्षिकसत्र २०८१ को नतिजा गत वर्ष र अघिल्लो वर्षको तुलनामा सुधार भएको हो ।
शैक्षिकसत्र २०७९ मा धनगढीका ४४ सामुदायिक विद्यालयको कक्षा ८ मा जम्मा ९ दशमलव ४७ प्रतिशत विद्यार्थी पास भएका थिए । उपमहानगरपालिकाले परीक्षामा कडाइ गरेपछि एकाएक नतिजा खस्किएको थियो ।
यस्तै, गत शैक्षिकसत्र २०८० मा सामुदायिक विद्यालय तर्फ कक्षा ८ का ३० दशमलव ७९ प्रतिशत विद्यार्थी उत्तीर्ण भएकामा यो वर्ष थप सुधार भएर कुल परीक्षार्थीको ४२ दशमलव १० प्रतिशत विद्यार्थी उत्तीर्ण भएको युवा, खेलकुद तथा शिक्षा महाशाखाले जनाएको छ ।
महाशाखाले प्रकाशित गरेको नतिजामा यो शैक्षिकसत्रमा ४४ सामुदायिक विद्यालयबाट दुई हजार ९२९ विद्यार्थी परीक्षामा सहभागी भएकोमा एक हजार २३३ जना पास भएका हुन् ।
सामुदायिक विद्यालय तर्फ ४२ दशमलव १० प्रतिशत विद्यार्थी उत्तीर्ण हुँदा धनगढीका ६३ संस्थागत विद्यालयबाट भने ८४ दशमलव २१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको उपमहानगरपालिकाले जनाएको छ ।
धनगढीका जम्मा १०७ सामुदायिक र संस्थागत विद्यालयको परीक्षाको नतिजामा सुधार हुँदै यो वर्ष ६१ दशमलव ५५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । गत वर्ष ५१ दशमलव ४० प्रतिशत पास भएकामा शैक्षिकसत्र २०७९ मा ३२ दशमलव ७८ प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण भएका थिए ।
