धनगढी : सुदूरपश्चिम विश्वविद्यालयका आंगिक क्याम्पसहरूमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन आज भइरहेको छ । विश्वविद्यालयको केन्द्रीय अनुगमन तथा समन्वय समितिद्वारा सार्वजनिक गरिएको तालिकाअनुसार आज बिहान ८ बजेदेखि मतदान सुरु भएको हो ।
निर्वाचन केन्द्रीय क्याम्पससहित १६ वटा क्याम्पसमा तोकिएको थियो । तर, केन्द्रीय क्याम्पसमा उत्पन्न विवादका कारण निर्वाचन स्थगित गरिएको छ । त्यस्तै, तीन क्याम्पसमा सर्वसम्मत नेतृत्व चयन भइसकेको छ ।
कैलालीको कैलाली, दुर्गालक्ष्मी र टीकापुर बहुमुखी क्याम्पस, डडेल्धुराको त्रिवेणी, बैतडीको जगन्नाथ, पाटन र मणीलेक बहुमुखी क्याम्पस, अछामको जनता बहुमुखी क्याम्पस, डोटीको घण्टेश्वर, दार्चुलाको गोकुलेश्वर र दार्चुला बहुमुखी क्याम्पस तथा बझाङको जयपृथ्वी बहुमुखी क्याम्पसमा निर्वाचन प्रक्रिया अघि बढाइएको छ ।
तर, विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा भने अनेरास्ववियू (एकीकृत समाजवादीनिकट) र अखिल समाजवादी (नेकपा निकट) ले संयुक्त रूपमा निर्वाचन संयोजकको कार्यालयमा तालाबन्दी गरेका छन् । उनीहरूले वास्तविक विद्यार्थीलाई मतदानबाट वञ्चित गराउने प्रयास भएको आरोप लगाउँदै विरोधस्वरूप तालाबन्दी गरेका हुन् ।
