दुर्गालक्ष्मी बहुमुखी क्याम्पसमा मतदान सम्पन्न, ८३१ मत खस्यो

अत्तरिया : कैलालीको अत्तरियामा रहेको दुर्गालक्ष्मी बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को मतदान सकिएको छ । आज विहान ८ बजेदेखि सुरु भएको मतदान साँझ ४ बजे सकिएको हो । मतदानमा ८३१ विद्यार्थी सहभागी भएको निर्वाचन समितिले जनाएको छ ।

सुदूरपश्चिम विश्वविद्यालयका आंगिक क्याम्पस रहेको दुर्गालक्ष्मीमा १ हजार १ सय २८ मतदाता रहेका थिए । स्ववियुको निर्वाचनका लागि दुर्गालक्ष्मी बहुमुखी क्याम्पसबाट संयुक्त अखिल र नेपाल विद्यार्थी संघ (नेविसंघ) ले प्यानल सहित उम्मेदवारी दर्ता गरेका छन ।

५ विद्यार्थी संगठन मिलेर बनेको संयुक्त अखिल प्यानलबाट स्ववियु सभापतिमा अखिल क्रान्तिकारीका बम बहादुर विकले प्यानल सहित उम्मेदवार दर्ता गराएका छन भने नेविसंघबाट सभापतिमा भुवन महराले प्यानल सहित उम्मेदवारी दर्ता गरेका छन् ।

अखिल क्रान्तिकारीबाट सचिवमा अनेरास्ववियुका गणेश नाथ योगीले उम्मेदवारी दिएका छन् भने कोषाध्यक्षमा अनेरास्ववियुकै दीपिका जोशीले उम्मेदवारी दर्ता गराएकी छन् ।

उक्त प्यानलमा समाजवादी, वैद्य, विप्लव, अखिल छैटौँका उम्मेदवारहरूले पनि मनोनयन दर्ता गराएका छन् । सदस्यमा नीरज मडै, डम्मरी ओली, भागरथी खड्का, कमला कुमारी दर्लामी, सोहित खनाल, धिरज बोकटी र सावित्री कामी रहेका छन् ।

यस्तै नेविसंघबाट सचिवमा ज्योति शाहु र कोषाध्यक्षमा सोनिया शाहले उम्मेदवार दिएकी छन् । सदस्यमा बिपना कुँवर, विष्णु नेगी, तारा कुमारी भट्टराई, रोजिना खड्का, गोविन्द सिंह महरा, महेन्द्र खत्री, विवेक डगौरा र कल्पना साउँद रहेका छन् ।

सभापतिका उम्मेदवार भुवन यसअघिको निर्वाचनबाट स्ववियु सभापति निर्वाचन भएका थिए भने बम पनि यसअघि सचिवमा निर्वाचित भएका थिए ।

Nabadurga Sunchadi
Loading...