कक्षा १२ को परीक्षा सर्‍यो, अब वैशाख २१ गतेदेखि हुने

काठमाडौँ : वैशाख ११ गतेका लागि तय गरिएको कक्षा १२ को राष्ट्रिय परीक्षा अब वैशाख २१ गतेदेखि मात्र हुने भएको छ । शिक्षकहरूको आन्दोलनका कारण राष्ट्रिय परीक्षा बोर्डले परीक्षा सार्ने निर्णय गरेको हो ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले कक्षा १२ परीक्षा सार्ने विषयमा बोर्डका अध्यक्ष महाश्रम शर्मा र शिक्षा सचिव दीपक काफ्लेसँग छलफल गरेका थिए । छलफलका क्रममा प्रधानमन्त्रीले परीक्षा सार्न सकिने अवस्था रहेको खण्डमा सार्न अनुरोध गरेका थिए।

सोही आधारमा बोर्डले वैशाख २१ गतेका लागि परीक्षा सारिएको अध्यक्ष शर्माले बताए । विषम परिस्थितिका कारण परीक्षा सार्नु परेको उनको भनाइ छ । यसअघि बोर्डको मंगलबार बिहान बसेको बैठकले तोकिएकै मितिमा परीक्षा गर्ने निर्णय गरेको थियो ।

कर्मचारी परिचालन गरेर भए पनि परीक्षा सार्ने भनेको थियो । तर बोर्डको निर्णय शिक्षकहरूले प्रतिरोध गर्ने चेतावनी दिएका थिए । त्यस्तै ट्रेड युनियनहरूले समेत कर्मचारीले परीक्षा नगर्ने प्रस्ट पारेको थियो । त्यसपछि परीक्षा सार्ने विषयमा प्रधानमन्त्रीले छलफल गरेका थिए ।

गएको चैत २० गतेदेखि विभिन्न माग राखेर शिक्षक महासङ्घले काठमाण्डौ केन्द्रित आन्दोलन र शैक्षिक हडताल गर्दै आएको छ ।

आन्दोलनको आज २२ दिन पुगेको छ । गएको शनिवारसम्म दिउँसो १२ बजेदेखि ३ बजेसम्म प्रदर्शन गर्दै आएकोमा उनीहरुले आइतवारदेखि बिहान ९ देखि १२ बजेसम्म आन्दोलन गरे ।

आज समय हेरफेर गरि ११ बजेदेखि दिउँसो २ बजेसम्म प्रदर्शन गर्ने नेपाल शिक्षक महासङ्घले जनाएको छ ।

Nabadurga Sunchadi
Loading...