काठमाडौँ : नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी रिहा भएका छन् । अघिल्लो पत्र अनधिकृत रहेकाले कार्यान्वयन नगर्नू भन्दै प्रहरीलाई सर्वोच्चले अर्को पत्र पठाएपछि उनी रिहा भएका हुन् ।
त्यसअघि आजनै सर्वोच्चको मुद्दा शाखाबाट शाखा अधिकृत महिमानसिंह विष्टले लेखेको पत्रका आधारमा रेशमलाई प्रहरीले पक्राउ गरेको थियो ।
कमलादीस्थित प्रज्ञा प्रतिष्ठानबाट पक्राउ परेका उनी डिल्लीबजार कारागारको जिम्मामा थिए । प्रहरीले उनलाई दिउँसो १ बजे पक्राउ गरेको थियो । त्यसपछि कारागार पु¥याइएका उनलाई भर्खरै डिल्लीबजार कारागारबाट छाडिएको हो ।
रेशम पक्राउ परेसँगै जनमतसँग हुन लागेको पार्टी एकता घोषणा कार्यक्रम बिथोलिएको छ । नेताहरूले अब एकताका लागि अर्काे मिति तय गर्ने बताएका छन्।
एकता घोषणा कार्यक्रम बिथोल्नकै लागि राज्यबाट योजनाबद्ध रुपमा रेशमलाई पक्राउ गरिएको जनमत र नाउपाका नेता-कार्यकर्ताको आरोप छ । उनीहरूले सरकारविरुद्ध आक्रोश पोखिरहेका छन् ।