अत्तरिया : सुदूरपश्चिममा आज (बिहीबार)बन्ढुनी अर्थात् बुढी पोल्ने पर्व मनाइँदै छ । धार्मिक तथा सांस्कृतिक महत्व बोकेको पर्व हरेक वर्ष असोज सङ्क्रान्तिका दिन बिशेष गरी सुदूरपश्चिमका पहाडी जिल्लाका गाउँबस्तीमा परम्परागत रूपमा मनाउने गरिन्छ । विशेषगरी डडेलधुरा, बैतडी, डोटी, अछाम लगायत सुदूरपश्चिमका विभिन्न जिल्लामा बन्ढुनी पोल्ने चलन छ ।
पछिल्लो समयमा पहाडी जिल्लाबाट तराईमा बसाईसराई गरी आएकाहरुले कैलाली र कञ्चनपुरका गाउँबस्तीमा पनि बन्ढुनी अर्थात् बुढी पोल्ने पर्व मनाउने गरेका छन् । बन्ढुनी पोलेपछि देउडा खेल्ने भएकाले यस पर्वले धार्मिक अनुष्ठानसँगै स्थानीय कला, संस्कृति र सामुदायिक सम्बन्धलाई समेत जोड्ने गरेको यसका जानकार बताउदछन् ।
धार्मिक मान्यता अनुसार द्वापरयुगमा कंसको आदेशमा भगवान् श्रीकृष्णलाई विष खुवाएर मार्न पुगेकी राक्षसी पुतनालाई श्रीकृष्णले वध गरेको सम्झनामा बन्ढुनी पर्व मनाउने गरिएको पण्डित लोकराज भट्टले जानकारी दिए । भदौ सङ्क्रान्ति अर्थात् ओल्के पर्वका दिन लिङ्गो ठड्याएर रुखका हाँगा, सल्लाका काठ तथा विभिन्न वनस्पति थुपारी बनाइएको बन्ढुनीलाई असोज सङ्क्रान्तिको साँझ वा राति जलाउने परम्परा छ ।
स्थानीय बासिन्दाले यस दिन गाईवस्तुको गोठ तथा गोबर थुपार्ने स्थानलाई विशेष रूपमा सजाउने गर्छन् । कांस, अम्रिसोलगायत पाँच जातका घाँसले बेरेर सल्लाको दियालोबाट राँको बनाइन्छ । त्यसैबाट बन्ढुनीमा आगो लगाएर जलाउने चलन छ । बन्ढुनी जलाउँदा स्थानीय भाषामा ‘गाईबाच्छी पाल, बुढी निकाल, थुई बुढी थुई’ भन्दै काँक्रो मुखमा हालेर फाल्ने तथा बन्ढुनी जलाउने परम्परा रहेको स्थानीय बताउँछन् ।
