डडेल्धुरा : समाजसेवी तथा आफूलाई जेनजी नेताका रूपमा चिनाउँदै आएका युवा रोहन ऐरले धर्मपत्नी धनसरी ऐरको तर्फबाट छोरी ओजस्वी ऐरको जन्मदिनको शुभ अवसरमा विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेका छन्।
परशुराम नगरपालिका–१ कलेनास्थित समैजी आधारभूत विद्यालयमा अध्ययनरत कक्षा १ देखि ८ सम्मका सम्पूर्ण ११८ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको हो। प्रत्येक विद्यार्थीलाई दुई थान कापी र एक थान कलम वितरण गरिएको विद्यालयले जनाएको छ।
छोरीको जन्मदिनलाई पारिवारिक उत्सवमा मात्र सीमित नराखी सामाजिक सेवासँग जोड्दै विद्यार्थीहरूको पठनपाठनमा सहयोग पु¥याउने उद्देश्यले शैक्षिक सामग्री वितरण गरिएको बताइएको छ। विश्व हिन्दु युवा संघ डडेल्धुरा जिल्ला कार्यसमिति अध्यक्षसमेत रहेका ऐरले जन्मदिनमा हुने अनावश्यक खर्चलाई सामाजिक सेवामा रूपान्तरण गर्न सके त्यसले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने बताए।
विद्यालयका सम्पूर्ण विद्यार्थीलाई लक्षित गरी गरिएको सहयोगले अध्ययनप्रति उनीहरूको उत्साह बढाउने विश्वास विद्यालय परिवारले व्यक्त गरेको छ। जन्मदिनको अवसरमा गरिएको उक्त कार्यले ‘खुसी आफूमा मात्र होइन, समाजसँग पनि बाँड्न सकिन्छ’ भन्ने सकारात्मक सन्देश दिएको छ।
ऐरले आगामी दिनमा पनि शिक्षा, खेलकुद तथा सामाजिक क्षेत्रमा आफ्नो तर्फबाट सक्दो सहयोग गर्दै जाने प्रतिबद्धता व्यक्त गरेका छन्।
