अत्तरिया : कैलालीको गोदावरी नगरपालिका-४ गोदावरीमा वनभित्र सञ्चालन भईरहेको जुवाखालमा प्रहरी पुगेको छ । विशेष सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय मालाखेती अत्तरियाको प्रहरी टोली मंगलबार साँझ जुवा खालमा पुगेको देखेपछि जुवाडे फरार भएका छन् ।
प्रहरीले उक्त ठाउँबाट ११ मोटरसाइकल नियन्त्रण गरेको छ । नियन्त्रणमा लिइएका मोटरसाइकल मध्ये से १ ब ११८१ नम्बरको सरकारी मोटरसाइकल समेत रहेको बताइएको छ ।
इलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी हिरा सिंह महराले मोटरसाइकल नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय मालाखेतीमा राखिएको बताए । उनले जुवा खालबाट संलग्न व्यक्तिहरू फरार रहेकाले खोजी भईरहेको बताएका छन् ।
नियन्त्रणमा लिइएका मोटरसाइकलका आधारमा समेत घटनामा संलग्न व्यक्तिहरूको पहिचान गर्ने प्रयास भइरहेको डिएसपी महराले बताए । सरकारी प्रयोजनका लागि प्रयोग हुने मोटरसाइकल जुवा खालसम्म कसरी पुग्यो भन्ने विषयमा समेत प्रहरीले अनुसन्धान अघि बढाउने भएको छ ।
