दिल्लीमा विश्वका शक्तिशाली राष्ट्रहरू भविष्यको विश्व व्यवस्था कस्तो बनाउने भनेर एउटै टेबलमा बसेर बहस गरिरहेका छन्। काठमाडौंमा भने हामी अझै पनि ‘कसको सरकार?’, ‘कसको गठबन्धन?’, ‘कसले कसलाई समर्थन गर्ने?’ र ‘कसले कसलाई ढाल्ने?’ भन्ने पुरानै राजनीतिक खेलमा रमाइरहेका छौँ।
एकातिर नयाँदिल्लीमा विश्वको शक्ति–सन्तुलन बदल्ने बहस चलिरहेको छ, अर्कोतिर काठमाडौंमा नेपालको राजनीतिक बहस फेरि पनि कुर्सी वरिपरि घुमिरहेको छ। विश्व भविष्यको नक्सा कोर्दैछ, हामी भने वर्तमानको कुर्सीको हिसाबकिताबमै व्यस्त छौँ। यही नै आजको नेपालको सबैभन्दा ठूलो विडम्बना हो। विश्वका ठूला अर्थतन्त्र र शक्तिराष्ट्रहरू बदलिँदो विश्व व्यवस्थामा आफ्नो प्रभाव, बजार, स्रोत, प्रविधि र रणनीतिक स्थान सुरक्षित गर्न दौडिरहेका छन्। भारत आफ्नो विश्वव्यापी भूमिका विस्तार गर्न खोजिरहेको छ।
चीन आफ्नो आर्थिक तथा रणनीतिक प्रभाव बलियो बनाउँदैछ। रुसदेखि अन्य उदीयमान शक्तिसम्म सबैले नयाँ विश्व समीकरणमा आफ्नो ठाउँ खोजिरहेका छन्। तर नेपाल? नेपालको राजनीतिक नेतृत्वको ठूलो हिस्सा अझै पनि राष्ट्रको भविष्यभन्दा सत्ताको भविष्य को चिन्तामा देखिन्छ। सरकार कसरी बनाउने, कसरी टिकाउने, कसलाई मन्त्री बनाउने, कसलाई हटाउने, कुन दलसँग मिल्ने र कुन दलसँग दूरी बनाउने—यिनै प्रश्नले हाम्रो राजनीतिक बहसको ठूलो हिस्सा ओगटेको छ। तर प्रश्न त्यो होइन कि आज सिंहदरबारमा को छ। ठूलो प्रश्न त यो हो— भोलिको विश्वमा नेपाल कहाँ उभिन्छ?
यही प्रश्नबाट हाम्रो राष्ट्रिय बहस सुरु हुनुपर्ने हो। BRICS जस्तो मञ्चमा विश्वका प्रमुख शक्तिहरू आर्थिक सहकार्य, व्यापार, प्रविधि, ऊर्जा, सुरक्षा र बदलिँदो विश्व व्यवस्थाबारे छलफल गरिरहेका बेला नेपालले त्यसबाट आफ्नो राष्ट्रिय हितका लागि के सिक्ने? भारत र चीनबीच बदलिँदो सम्बन्धबाट नेपालले कस्तो रणनीति बनाउने? विश्व अर्थतन्त्रको नयाँ केन्द्रतर्फ सर्दै गर्दा नेपालले आफ्नो अर्थतन्त्रलाई कसरी जोड्ने? यी प्रश्नहरू अहिले नेपाली राजनीतिका प्राथमिक प्रश्न बन्नुपर्ने हो। तर विडम्बना के छ भने विश्व २१औँ शताब्दीको नयाँ शक्ति–समीकरणको हिसाब गरिरहेको छ, नेपाल भने अझै २०औँ शताब्दीको सत्ता–समीकरणमै अड्किएको छ। राजनीति आवश्यक छ। सत्ता परिवर्तन लोकतन्त्रको सामान्य प्रक्रिया हो।
तर जब राजनीतिको सम्पूर्ण ऊर्जा सत्ताको वरिपरि मात्र केन्द्रित हुन्छ, तब राष्ट्रको दीर्घकालीन एजेन्डा ओझेलमा पर्छ। र यही खतरा आज नेपालसामु छ। विश्वले दिल्लीलाई नियालिरहेको बेला नेपालले पनि दिल्लीलाई हेर्नुपर्छ—तर तमासा हेर्न होइन, अवसर खोज्न। किनकि विश्व बदलिँदैछ। छिमेक बदलिँदैछ। शक्ति–सन्तुलन बदलिँदैछ। विश्व अर्थतन्त्र बदलिँदैछ। तर नेपालचाहिँ कहिलेसम्म केवल सरकार बदल्ने अभ्यासमै सीमित रहने? – सम्पादकीय
