काठमाडौं : भोटेकोशी बाढीपीडितहरुको सहयोगार्थ सुदूरपश्चिम रोयल वारियर्सको अगुवाइमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । शनिबार काठमाण्डौं लाजिम्पाटमा रहेको स्पालोन युनिसेक्स सलुनमा आयोजना गरिएको उक्त रत्तदान कार्यक्रममा ६५ जनाभन्दा बढीले रक्तदान गरेको सुदूरपश्चिम रोयल वारियर्सकी सिइयो उमा गौतम भण्डारीले जानकारी दिइन ।
बिहान १० देखि अपराह्न ३ बजेसम्म सञ्चालन भएको उक्त रत्तदान कार्यक्रममा चर्चित गायक तथा नेपाल आइडल रबि वड, स्काइ वाक टावरका चेयरम्यान तेजबहादुर सिंह लगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

बाढीपीडितप्रति ऐक्यबद्धता जनाउँदैे यस पवित्र मानवताको सेवामा गरिएको अभियानमा सहभागी सम्पूर्ण रक्तदाताप्रति आभार व्यक्त गर्दै यस्ता सामाजिक अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिइने सिइयो उमा गौतम भण्डारीले बताइन । उक्त रत्तदान कार्यक्रममा स्पालोन युनिसेक्स सलुन,मेट्रो ब्लड बैंक, र एरा अन्तर्राष्ट्रिय अस्पतालले पनि सहकार्य गरेका थिए ।
सुदूरपश्चिम रोयल वारियर्स एभरेष्ट महिला भलिबल लिगका लागि भित्रिएको नयाँ क्लब हो । यसमा व्यवसायी कुमार भण्डारी,उमा गौतम भण्डारी,सुदूरपश्चिमका युवा व्यवसायी संजिव शाही लगायत आबद्ध छन ।

