कृष्णपुर : कञ्चनपुरकाे कृष्णापुर-६ मा रहेकाे ब्लूमफिल्ड एकेडेमीको आयोजनामा तथा गोदावरी आविष्कार केन्द्र (GiC) को प्राविधिक साझेदारीमा सञ्चालित १६औँ छुकछुके रोबोट कार्यशाला-२०८३ सम्पन्न भएको छ ।
भदौ १८ गतेदेखि सुरु भएको कार्यशाला भदौ २५ गते सम्पन्न भएको हो । विद्यालयका विद्यार्थीहरूलाई विज्ञान, प्रविधि, इन्जिनियरिङ, कला तथा गणित (STEAM) शिक्षालाई व्यवहारिक रूपमा सिकाउने उद्देश्यले कार्यशाला सञ्चालन गरिएको विद्यालयले जनाएको छ ।
कार्यशालामा गोदावरी आविष्कार केन्द्रका प्रशिक्षक इन्जिनियर सम्राट भट्टले प्रशिक्षण दिएका थिए। कार्यशाला सहभागी विद्यार्थीहरूले रोबोटको डिजाइन, यान्त्रिक संयोजन, गियर तथा गियर अनुपात, इलेक्ट्रोनिक्स, प्रोग्रामिङ तथा रोबोट सञ्चालनसम्बन्धी ज्ञान हासिल गरेका थिए ।
कार्यक्रममा विद्यालयका प्राचार्य अन्तराम बिष्टले वर्तमान शिक्षामा केवल सैद्धान्तिक ज्ञान मात्र पर्याप्त नहुने बताउँदै विज्ञान तथा प्रविधिसँग जोडिएको प्रयोगात्मक र सीपमूलक शिक्षामा जोड दिनुपर्ने बताए । सुदूरपश्चिमका चर्चित देउडा तथा लोकगायकसमेत रहेका बिष्टले यस्ता कार्यशालाले विद्यार्थीहरूमा सिर्जनशीलता, समस्या समाधान क्षमता तथा नवप्रवर्तनप्रतिको रुचि विकास गर्ने विश्वास व्यक्त गरे ।
वर्षाका कारण कार्यशालाको अन्तिम दिन आयोजना हुने समापन कार्यक्रम केही समयका लागि स्थगित भए पनि भदौ २५ गते गरिएको थियो । समापन कार्यक्रममा विद्यार्थीहरूले आफूले निर्माण गरेका छुकछुके रोबोटहरूको प्रस्तुति दिएका थिए ।
