धनगढी : सामाजिक उत्तरदायित्व अन्तर्गत निसर्ग हस्पिटल धनगढीले दृष्टि फाउन्डेशन नेपालको अक्षयकोष स्थापनार्थ ५ लाखको चेक हस्तान्तरण गरेको छ । उक्तचेक दृष्टि फाउन्डेशन नेपालको कार्यालय, धनगढी उपमहानगरपालिका-१३ मा एक कार्यक्रममा फाउन्डेशनकी अध्यक्ष कल्पना भट्टलाई हस्तान्तरण गरिएको हो ।
कार्यक्रममा निसर्ग हस्पिटलका अध्यक्ष तथा युवा समाज सेवी तिर्थराजपन्त, डा. हेमन्तओझा, डा. दीपक ठकुराठी, डा. प्रभात सापकोटा, डा. दीपकपौडेल लगायत अस्पतालका कर्मचारी, नर्सिङ स्टाफ तथा अन्यपदाधिकारीहरूको उपस्थिति रहेको थियो । हस्पिटलका अध्यक्ष पन्तले संस्थाको स्थापना कालदेखि नै दृष्टि फाउन्डेशनमा आश्रय लिएर बस्दै आएका असहाय तथा विपन्न नागरिकहरूलाई निःशुल्क तथा भारी छुटमा उपचार सेवा दिँदै आएकोे बताए ।
कार्यक्रममा बोल्दै पन्तले भने, ‘निसर्ग हस्पिटलले सदैव असहाय, गरिब तथा समाजका पछाडि परेका वर्गहरूलाई प्राथमिकतामा राख्दै सेवा गर्दै आएको छ । हाम्रा सम्पूर्ण शेयर सदस्य, चिकित्सक, कर्मचारी, नर्सिङ स्टाफदेखि व्यवस्थापन तहसम्मका सबैले स्वेच्छिक रूपमा यो सहयोगमा सहभागीभएर एक सकारात्मक उदाहरण प्रस्तुत गरेका छन् ।’
उक्त अवसरमा निसर्ग हस्पिटल र दृष्टि फाउन्डेशनबीच एक महत्वपूर्ण स्वास्थ्य सम्झौता समेत सम्पन्न भएको छ । जस अनुसार दृष्टि फाउन्डेशनमा बसोबास गर्ने सेवाग्राहीहरूले निःशुल्कउपचार सुविधा र अन्य सेवामा ३० प्रतिशतसम्म छुट पाउने छन् ।
पन्तले धनगढीमा रहेका आमाको माया छात्रावास, मानव सेवाआश्रम लगायतका संस्थाहरूसँग पनि हस्पिटलले विभिन्न समयमा सहयोग गर्दै आएको बताए । आगामी दिनहरूमा समेत सामाजिक संस्थाहरूसँग हातेमालो गर्दै सेवा विस्तार गरिने प्रतिबद्धता उनको छ ।