सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन गर्न बजेट माग

धनगढी : सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनका लागि बजेट माग गरिएको छ । कैलालीको गोदावरी नगरपालिका-५ गेटामा सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ सङ्घर्ष समितिले नेपाल सरकारसँग बजेट माग गरेको हो ।

जेठ ४ गतेको प्रतिनिधि सभा बैठकबाट शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको विधेयक प्रतिनिधि सभाबाट पारित भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई जिल्ला प्रशासनमार्फत धन्यवाद पत्र पठाउदै बजेट माग गरिएको हो । समितिले बुझाएको ज्ञापन पत्रमा जनभावनाको कदर गर्दै विधेयक पारित गरिदिएको भन्दै विभिन्न नेताहरूलाई सम्बोधन गरेर धन्यवाद ज्ञापन गरिएको छ ।

बिहीबार संघर्ष समितिले कैलालीका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहलाई भेटेर ज्ञापन पत्र बुझाएको हो ।

सुदूरपश्चिमका जनताको प्रत्यक्ष जीवनस्तर सँग जोडिने रोजगारी, व्यापार/व्यवसाय, पर्यटन तथा आर्थिक एवम् सामाजिक रूपान्तरणमा योगदान पु¥याउने गौरवको योजनाका रूपमा समेत विश्वविद्यालय रहेकाले त्यसका लागि आवश्यक बजेट, जनशक्ति र उपकरणको यथाशीघ्र व्यवस्थापन गरिदिन पनि ज्ञापन पत्र मार्फत माग गरिएको छ ।

संयोजक लोकराज पाण्डेय (आगो), सचिव धर्मसिंह कुँवर,सह-संयोजक आनन्द प्रसाद भट्टको हस्ताक्षर रहेको ज्ञापन पत्रमा आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत हुने मिति नजिकिएको अवस्थामा सो बजेट कार्यक्रममा स्वास्थ्य विज्ञान विश्वविद्यालय र शिक्षण अस्पताल सञ्चालनका लागि आवश्यक बजेटको प्रबन्ध मिलाइदिन आग्रह गरिएको छ ।

त्यस्तै स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनका लागि ऐनमा व्यवस्था भए बमोजिमका पदाधिकारीहरूको नियुक्तिको प्रक्रिया र आगामी आर्थिक वर्ष भित्रै चिकित्सा शिक्षा (एमबिबिएस) का लागि सिट सङ्ख्या निर्धारणको प्रक्रिया अगाडि बढाउन पनि ज्ञापन पत्र मार्फत माग गरिएको छ ।

ज्ञापन पत्र बुझ्दै मुख्यमन्त्री शाहले संघर्ष समिति लगायतको खबरदारी र नेताहरुको पहलले विधेयक जारी भएको बताए । उनले विधेयक पारीत भएपछि अब बजेटको व्यवस्थापन हुनेमा आफु ढुक्क रहेको बताए । ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमालले बजेटको समय नजिकिएकाले आजै ज्ञापन पत्र प्रधानमन्त्रीको कार्यालयमा पठाइदिने बताए ।

Loading...