अत्तरिया खानेपानीको वार्षिक साधारण सभा सम्पन्न, साढे २४ करोड बराबरको कारोबार

अत्तरिया : कैलालीको अत्तरियामा रहेको साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता समितिको वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार एक कार्यक्रमका बिच संस्थाको १६औ वार्षिक साधारण सभा सम्पन्न भएको हो ।

संस्थाका कार्यवाहक अध्यक्ष शेर बहादुर बिष्टको सभापतित्वमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि गोदावरी नगरपालिकाका नगरप्रमुख विरेन्द्र भट्ट रहेका थिए । कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधि एवम् उपभोक्ताहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा संस्थाको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रगती प्रतिवेदन, लेखा प्रतिवेदन तथा लेखा परिक्षण प्रतिवेदन प्रस्तुत गरिएको थियो । संस्थाको वार्षिक प्रगती प्रतिवेदनका साथै आर्थिक वर्षको अनुमानित आयव्यय, बजेट तथा कार्यक्रमहरु कार्यवाहक अध्यक्ष बिष्टले प्रस्तुत गरेका थिए भने संस्थाको लेखा प्रतिवेदन कोषाध्यक्ष लक्ष्मण बहादुर कठायतले प्रस्तुत गरेका थिए ।

संस्थाले उक्त आर्थिक वर्षमा करिब साढे २४ करोड बराबरको कारोबार गरेको पाईएको छ । संस्थाको आर्थिक प्रतिवेदनमा उल्लेख गरिएअनुसार संस्थाले आर्थिक वर्ष २०८०/०८१ मा कुल २४ करोड ४५ लाख ३० हजार ५८ रुपैया बराबरको कारोबार गरेको छ । जसवाफत संस्थाले ६३ लाख ३३ हजार ६४६ रुपैया खुद बचत गर्न सफल भएको प्रतिवेदनमा उल्लेख छ । गोदावरी नगरपालिका वडा नं. १,२ र ४ का उपभोक्ताहरुका लागि २०५८ सालमा उपभोक्ता समिति गठन गरी २०६० साल वैशाख २४ गते संस्थाको स्थापना गरिएको थियो ।

सो समयमा करिब २ हजार ४०५ जना उपभोक्ताहरुलाई लक्षित गरि डिजाइन गरिएको संस्थामा हाल ५ हजार ५१४ उपभोक्ताहरु रहेका छन । संस्थाले उपभोक्ताहरुको संख्या बढेसँगै नयाँ आयोजना समेत निर्माण गरिसकेको संस्थाका कार्यालय प्रमुख कुलानन्द पनेरुले जानकारी दिए । उनका अनुसार संस्थाले खानेपानी आयोजना कार्यालय पानीपोखरीको सहलगानीमा नगरपालिकाको वडा नं. ४ बनदेवीमा साढे ४ लाख लिटरको अर्काे ओभरहेड ट्याङकी निर्माण गरिएको छ ।

नेपाल सरकारको ९ करोड २३ लाख ९१ हजार ६००, नगर विकास कोषको २ करोड ६३ लाख ९७ हजार ६०० तथा नगरपालिका र संस्थाको समान २ करोड ६३ लाख ९७ हजार ६०० रकम गरी कुल १३ करोड १९ लाख ८८ हजार रुपैयामा सो आयोजना निर्माण गरिएको पनेरुले बताए । उनले सो आयोजना अन्तरगत ४५० घरमिटर (४ लाख ५० हजार लिटर) को एउटा ओभरहेड ट्याङकी र २ वटा डिप बोरिङहरु निर्माण गरिएको बताए ।

उनका अनुसार कार्यालय अगाडी रहेको एउटा ओभरहेड ट्याङकीले मात्रै उपभोक्ताहरुलाई पानी पु-याउन सकिने अवस्था नरहेपछि संस्थाले अर्काे ट्याङकी निर्माण गरेको हो । कार्यालयमा ६०० घनमिटर (६ लाख लिटर) को ट्याङकी निर्माण गरिएको छ । सो ट्याङकी स्थापना समयमा नै निर्माण गरिएको उनले बताए । त्यसबाहेक एउटा २०० घनमिटर (२ लाख लिटर) को एउटा रिजर्भ ट्याङकी रहेको उनले बताए । संस्थाले नयाँ आयोजनाका २ वटा बोरिङ बाहेक थप ३ वटा बोरिङ सहित ५ वटा डिप बोरिङहरु अहिले सञ्चालनमा रहेका छन । संस्थाले हालसम्म ११४ किलोमिटर पाईपलाईन विस्तार गरिसकेको कार्यालय प्रमुख पनेरुले बताए ।

Loading...