दार्चुला : दार्चुलाको नेपाल –चीन सीमानाका (टिङ्कर) ३ दिनका लागि खुल्ने भएको छ । जिल्लाको व्यास गाउँपालिका– १ मा पर्ने सो नाका यही साउन ७ गतेदेखी ९ गतेसम्मका लागि खुल्ने भएको हो ।
चीनको तिब्बतस्थित ताक्लाकोटमा रहेको स्थानीय प्रशासनले छाङरु र टिङ्करका व्यापारीलाई नाका खुल्नेबारे जानकारी गराएपछि टिङ्करभन्ज्याङ १ नम्बर पिल्लर सीमानाका खुल्ने बताईएको छ । नाका खुल्ने भएपछि यहाँका व्यापारी व्यापार व्यवसायका लागि चीनको ताक्लाकोट जाने तयारीमा छन् ।
नेपाल–चीन ताक्लाकोट नाका खुल्नेबारे त्यहाँको स्थानीय प्रशासनले आफूलाई जानकारी गराएको तथा आफूले दार्चुलाका प्रमुख जिल्ला अधिकारी अनिल पौडेललाई जानकारी गराएको व्यास गाउँपालिका–१, छाङरुका स्थानीय व्यापारी एवं नेपाल–चीनमैत्री सङ्घका केन्द्रीय सदस्य योगेश बोहराले जानकारी दिए । यहाँका व्यापारीले ताक्लाकोट बजारमा व्यापार गर्ने गरेको बोहोराले बताए ।
नाका खुल्ने भएपछि व्यापारीले ताक्लाकोट लैजाने आआफ्ना सामान तयारी अवस्थामा राखेको उनले बताए । ७० देखि ८० जना नेपाली व्यापारीले ताक्लाकोटमा नेपाली र भारतीय सामानको व्यापार गर्ने गरेको उनको भनाई छ । ‘ताक्लाकोटमा साढे चार महिना जति खाद्य सामग्री र लुगाकपडाको व्यापार गर्छौं, सोही व्यापारबाट आम्दानी भएको पैसाले जीविका चलाउँछौँ’ उनले भने ।
तर यता प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले भने आफूलाई तिब्बत प्रशासनको आधिकारिक पत्र प्राप्त भइनसकेको बताएका छन । जिल्ला प्रशासन कार्यालयको तथ्याङ्क अनुसार चीनको ताक्लाकोट जानका लागि यस वर्ष व्यास गाउँपालिकाका १४६ र व्यास गाउँपालिकाबाहेकका अन्य पालिकाका ११ जनाले तिब्बत प्रवेश अनुमतिपत्र नवीकरण गराएका छन् ।
यस्तै व्यास गाउँपालिकाका ६८ र अन्य पालिकाका ३७ जनाले नयाँ अनुमतिपत्र लिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । कोभिड–१९ महामारीका कारण लामो समय बन्द रहेको ताक्लाकोट नाका गत वर्षदेखि खुलेको हो । छाङरु र टिङ्करका व्यापारी विगतदेखि परम्परागत रूपमा सो नाका भएर आवतजावत गर्दै आइरहेका छन् ।