डडेल्धुराका पाली मृत्यु प्रकरण : पक्राउ परेका सई कारागार चलान

अत्तरिया : कैलाली कारागारमा कैदीबन्दीको मृत्यु प्रकरणमा पक्राउ परेका नेपाल प्रहरीका प्रहरी नायव निरीक्षक (सई) हरजीत नाथलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।

जिल्ला अदालतले थुनछेक बहसपछि नाथलाई पुर्पक्षका लागि कारागार चलान गरेको प्रहरीले जनाएको छ । कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) बाल नरसिंह राणाले जिल्ला अदालतको आदेशपछि नाथलाई पुर्पक्षका लागि कारागार चलान गरिएको बताए ।

बैंकिङ कसुर मुद्दामा दोषी ठहर भएका डडेल्धुराको भागेश्वर गाउँपालिका–५ का २८ वर्षीय हरिस सिंह पालीको २ असारमा मृत्यु भएको थियो । राति कारागारको शौचालयमा लडेको अवस्थामा अचेत भेटिएका उनको उपचारका क्रममा प्रादेशिक अस्पतालमा मृत्यु भएको थियो । जेठ २९ गते डडेल्धुराबाट पक्राउ परेका पालीलाई कैलाली प्रहरीले जेठ ३० गते धनगढी ल्याएको थियो ।

जेठ ३१ गते शनिबार परेका कारण उनलाई असार १ गते मात्र अदालत पेश गरिएको थियो । अदालतले पालीलाई सोही दिन कैद भुक्तानका लागि जिल्ला कारागार चलान गरिएको थियो । पाली प्रतिवादी रहेको मुद्दामा पुर्पक्षमा पठाइएका नाथ प्रतिवादी रहेका थिए ।

पालीकी श्रीमती जानकी सावदले नाथकै योजनामा कारागारभित्र आफ्ना श्रीमानलाई कुटेर हत्या गरेको भन्दै किटानी जाहेरी दिएकी थिइन् । सोही किटानी जाहेरीका आधारमा प्रहरीले नाथलाई पक्राउ गरेर मुद्दा चलाएको थियो ।

त्यसअघि नाथले दिएको मुद्दामा पालीलाई जिल्ला अदालतले २०८० फागुनमा १० दिन कैद र दुई लाख जरिबाना हुने फैसला गरेको थियो ।

Loading...