एक वर्षमा डडेलधुरामा ७७ सवारी दुर्घटना, १४ को मृत्यु

डडेलधुरा : पछिल्लो एक वर्षमा डडेलधुरामा ७७ वटा सवारी दुर्घटना भएका छन् । ती दुर्घटनामा १४ जनाले ज्यान गुमाएका छन् भने कैयौँ घाइते भएका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय डडेलधुराका अनुसार मृत्यु हुनेमध्ये ६ जना पुरुष, ६ जना महिला र २ जना बालबालिका रहेका छन् ।‘सवारी दुर्घटनाको प्रमुख कारण तीव्र गति, नियम उल्लङ्घन र चालकको लापरबाही हो,’ ट्राफिक कार्यालय प्रमुख प्रहरी नायब निरीक्षक (प्रनानि) हर्क बहादुर साउदले भने ।

साउदका अनुसार गत आर्थिक वर्षमा ट्राफिक नियम उल्लङ्घन गर्ने २ हजार १४३ वटा सवारी साधनहरूलाई कारबाही गरिएको छ । नियम उल्लङ्घन गर्नेहरूबाट १५ लाख ४३ हजार एक रुपैयाँ राजस्व सङ्कलन गरिएको छ । ‘प्रत्येक सवारी चालक र यात्रुले ट्राफिक नियमको पालना गरे मात्र सडक सुरक्षामा सुधार आउन सक्छ,’ साउदले भने ।

ट्रक, बस, जिप/कार, ट्र्याक्टर, मोटरसाइकलदेखि अन्य सवारी साधनहरूले नियम उल्लङ्घन गरेपछि उनीहरूलाई जरिवाना तिराइएको हो। साउदका अनुसार, सबैभन्दा धेरै जिप तथा कारले ट्राफिक नियम उल्लङ्घन गरेका छन्।

१०६१ वटा जिप/कारहरूबाट मात्रै करिब ७ लाख २१ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ। त्यसपछि ट्रकबाट २ लाख ३० हजार पाँच सय, मोटरसाइकलबाट १ लाख ९५ हजार पाँच सय एक, ट्र्याक्टरबाट १ लाख ११ हजार पाँच सय, बसबाट ७९ हजार र अन्य सवारीसाधनबाट २ लाख पाँच हजार पाँच सय राजस्व सङ्कलन भएको ट्राफिक कार्यालयको तथ्याङ्क छ।

आर्थिक वर्ष २०८१/०८२ मा ट्राफिक नियम उल्लङ्घन गर्ने २ हजार १४३ सवारी साधनहरूलाई कारबाही गरी १५ लाख ४३ हजार १ रुपैयाँ राजश्व सङ्कलन भएको छ। ट्राफिक प्रहरीले विभिन्न विद्यालय, यातायात व्यवसायी र सार्वजनिक स्थलहरूमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । तर पनि सवारी दुर्घटनाको ग्राफ उस्तै रहेको ट्राफिक प्रहरीको भनाइ छ ।

Loading...